
काठमाडौं : वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत नेपालीहरूले नुवाकोटको एक पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
नुवाकोटको बिदुर–१३ स्थायी घर भई साउदी अरबस्थित एफपीआई कम्पनीमा कार्यरत पदम नारायण श्रेष्ठकी धर्मपत्नी रेखा श्रेष्ठको अल्पायुमै भएको असामयिक निधनपछि शोकमा डुबेको परिवारलाई राहतस्वरूप उक्त सहयोग उपलब्ध गराइएको हो ।
दिवंगत रेखा श्रेष्ठका एक सानो छोरा र एक छोरी रहेका छन् । पत्नी वियोगको पीडा सेलाउन नपाउँदै पदम नारायण श्रेष्ठका बुबा बेग नारायण श्रेष्ठको टाउकोमा ट्युमर देखिएपछि हाल उपचाररत छन् । परिवारमाथि एकपछि अर्को गर्दै आइपरेका पीडादायी घटनाले श्रेष्ठ परिवार आर्थिक तथा मानसिक रूपमा गम्भीर संकटमा परेको बताइएको छ ।
यस कठिन परिस्थितिमा परिवारलाई केही राहत पुगोस् भन्ने मानवीय उद्देश्यका साथ साउदी अरबमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । एफपीआई साउदीमा कार्यरत कर्मचारीहरू, नेपाली साझा मञ्च साउदीका सदस्यहरू तथा विभिन्न क्षेत्रका शुभेच्छुकहरूको सक्रिय सहभागितामा संकलित कुल १ लाख ७५ हजार ५०४ रुपैयाँ पीडित परिवारलाई मानवीय सहयोगस्वरूप हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरणपछि नेपाली साझा मञ्च साउदीका अध्यक्ष अन्जान गुभाजुले सहयोग संकलन तथा सहयोग प्रदान गर्ने सम्पूर्ण दाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस्तो मानवीय कार्यले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सहकार्य, एकता र संवेदनशीलतालाई थप मजबुत बनाएको बताए ।
अध्यक्ष गुभाजुले बिरामी बेग नारायण श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको प्रार्थना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरे ।
प्रवासी नेपालीहरूको सामूहिक प्रयासबाट गरिएको यो सहयोगले संकटको समयमा “नेपालीका लागि नेपाली” भन्ने भावनालाई पुनः सशक्त बनाएको विश्वास लिइएको छ ।