२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

‘शिक्षा क्षेत्रमा नवअरुणिमाको महत्वपूर्ण योगदान’

shivam cement
२०८२ माघ २५ गते २१:१०
Shares
‘शिक्षा क्षेत्रमा नवअरुणिमाको महत्वपूर्ण योगदान’

काठमाडौं : अरुणिमा शैक्षिक प्रतिष्ठानअन्तर्गत सञ्चालित नवअरुणिमा माध्यमिक विद्यालय, आरुबारीको अभिभावक दिवस–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल, उपमेयर सान्नानी लामा तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजिव थापा विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

साथै शिक्षा, साहित्य तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले लोक तथा आधुनिक नृत्य, गायन, अर्केस्ट्रा, योग, तेक्वान्दो तथा सचेतनामूलक नाटक लगायतका विविध प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद दंगालले विद्यालयमा सञ्चालन हुँदै आएका प्रशासनिक, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका समग्र गतिविधिबारे जानकारी गराएका थिए । 

यस्तै, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले विद्यालय स्थापनाकालमा स्थानीय समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै रमेश विकल, बुद्धि बहादुर थापा, विजय चालिसे, सनत कुमार रिसाल, पृथ्वीमान सिंह बस्नेत लगायतप्रति आभार व्यक्त गरेका थिए । साथै उनले निजी शैक्षिक गुठीको अवधारणाबारे प्रकाश पारेका थिए । 

नगर प्रमुख दीपक कुमार रिसालले नव अरुणिमा विद्यालयले उपत्यकाको पूर्वी भेगमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरे भने नगर उपप्रमुख सान्नानी लामाले नवअरुणिमालाई नगरपालिकाकै एक नमुना विद्यालयका रूपमा प्रस्तुत गरे । 

पूर्वविद्यार्थीहरूको तर्फबाट मन्तव्य राख्दै सञ्जिता चालिसेले नव अरुणिमाको विद्यार्थी हुनु गर्वको विषय भएको बताइन् । 

सोही अवसरमा क्रिकेटप्रति विशेष रुचि तथा क्षमता भएका विद्यार्थीहरूलाई अरुणिमा परोपकार प्रतिष्ठानअन्तर्गत सञ्चालित अमोद स्मृति क्रिकेट पुरस्कार कोषबाट नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि ठाकुर शर्मा भण्डारीले विद्यार्थीहरूले प्रस्तुत गरेका कार्यक्रमले विद्यालयले अध्यात्म, संस्कृति, चालचलन र परम्परासँग जोडिएको शिक्षा प्रदान गरिरहेको स्पष्ट रूपमा देखिएको धारणा राखे । 

कार्यक्रमका सभाध्यक्ष तथा नवअरुणिमा माध्यमिक विद्यालयका अध्यक्ष गोपाल प्रसाद बरालले गुणस्तरीय शिक्षामा विद्यालयले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै विद्यार्थी, अभिभावक र स्थानीय समुदायको सहकार्यमा विद्यालय अगाडि बढिरहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर