
काठमाडौंः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका आधारभूत सेवाहरूमा देखिएको समस्या सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
उनले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र व्यवस्थापनको अभावका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको बताएका हुन् । उनकाअनुसार सरकारले ठूला–ठूला कुरा गर्ने भन्दापनि सामान्य सार्वजनिक सेवामा सुधारमा जोड दिनुपर्छ । सार्वजनिक सेवा सुधारमा विगतदेखि नै सरकारहरुले ध्यान दिन नसक्दा जनतामा असन्तोष बढाइरहेको उनको भनाइ छ । श्रेष्ठले व्यवसाय क्षेत्रतर्फ संकेत गर्दै राजनीति र व्यवसायबीचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको समेत बताए ।
उनकाअनुसार राजनीतिक लबिङ र प्रभावका आधारमा व्यवसाय चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । अब उद्योगी व्यवसायीहरु नविनता र सिर्जनशील बन्न जरुरी छ । व्यवसायीहरूले अब प्रोफेसनलिज्म अपनाउनुपर्छ र नवप्रवर्तनमा ध्यान दिनुपर्छ । उनले भदौ २३ र २४ बाट पाठ सिकेर संचार क्षेत्र पनि धेरै जिम्मेवार हुन जरुरी रहेको बताए । श्रेष्ठकाअनुसार अहिले धेरै असन्तोष आउनेमा संचारमाध्यम पनि जिम्मेवार छन् । नेपालमा केही नभएको जस्तो भाष्य संचारमध्यमले गराइरहेको श्रेष्ठको भनाइ छ ।