
काठमाडौं : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन् ।
सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्री प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेल गठन गर्न लागेको उनको भनाइ थियो ।
सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको उल्लेख गरे । उनले त्यसलाई नियन्त्रण गर्दै लैजाने काममा नेपाल प्रहरी र सञ्चारकर्मीले बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरूले आफ्नो धर्मका रूपमा आत्मासात गर्न जरुरी रहेको पनि बताए ।
प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने खालको समाचार सम्प्रेषण हुन नदिने कुरामा पनि सञ्चारमाध्यमहरूले सचेत भएर काम गर्नुपर्ने बताए ।