काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि कार्यदल गठन गरेको छ ।
आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व राष्ट्रिय फुटबलर विदूर विष्ट सदस्य रहेको कार्यदलले समस्या, पहिचान र सुझावसहितको प्रतिवेदन बुझाउँनेछ ।
करिब दुई साताअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि शुरु भएको विवाद समाधान हुन सकेको छैन । खेलाडीहरुले नै घटनाबारे छानविन गर्न माग गर्दै आएका थिए । उनीहरुलाई प्रशिक्षक र खेलाडीको विवादको विषयमा समस्या पहिचान गर्दै त्यसको विषयमा छानविन गर्न एक साताको समय दिइएको छ ।
एन्फा बैठकमा कार्यसमितिका १७ मध्ये राजीनामा दिएका तीन सदस्य बाहेक अरु उपस्थित थिए । एन्फा भित्रैबाट समस्या समाधानको प्रयसा गरे पनि त्यसमा सहमत हुन नसकेपछि कार्यदल गठन गर्ने निर्णय भएको थियो । यसअघि गत बुधबार एन्फाले भिक्टर राणामात्रै रहने गरी एक सदस्यीय छानविन समिति गठन गरेको समाचार आफ्नो वेवसाइटमा प्रकाशित गरेको थियो । तर, पाँच मिनेट नवित्दै हटाइएको थियो ।
नेपालले एक महिनापछि कुवेतमा एएफसी एसिया कप छनोटको खेल खेल्दैछ र त्यसअघि कतरमा अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली कतार जानुअघि नै उनीहरुले प्रतिवेदन बुझाउनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies