
काठमाडौंः संघीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानुन, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार कानुन मन्त्रालयको अभिलेखअनुसार ३ सय ५५ वटा ऐन, ३२५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १३४ वटा निर्देशिका र २५० वटा कार्यविधि निर्माण भएका छन् । उनले विधायन ऐन २०८१ को प्रभावकारी कार्यान्वयन भइरहेको पनि बताए ।
उनले प्रत्यायोजित विधायन ऐनमा भएको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालय वा निकायबाट जारी हुने प्रत्यायोजित विधायन अनिवार्य रूपमा कानुन मन्त्रालयमा दर्ता गर्ने व्यवस्था लागू गरिएको जानकारी दिए । हालसम्म दर्ता भएका प्रत्यायोजित विधायनमा ८ वटा नियमावली, ८ वटा विनियमावली, ४५ वटा कार्यविधि, १४ वटा निर्देशिका र १ वटा मापदण्ड रहेको मन्त्री सिन्हाले जानकारी दिए ।