२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कांग्रेस अहिले ‘चट्टानी एकता’मा बाँधिएको छः घिमिरे

shivam cement
कुमार श्रेष्ठ
२०८२ माघ २६ गते २१:१६
Shares
कांग्रेस अहिले ‘चट्टानी एकता’मा बाँधिएको छः घिमिरे

रामेछाप : नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक विरासत बोकेको जिल्ला रामेछाप फेरि एक पटक राजनीतिक सरगर्मीको केन्द्र बनेको छ । निर्वाचनको औपचारिक घोषणा हुनुअघि नै गाउँ–बस्तीमा राजनीतिक चहलपहल बढिरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेको रामेछाप आगमनले जिल्लाको राजनीतिक माहोललाई थप तताएको छ । सोमबार सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता घिमिरेले नेपाली कांग्रेस रामेछाप अहिले‘चट्टानी एकता’ मा बाँधिएको दाबी गरे ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रका कारण देखिने मतभेदलाई कमजोरीको रूपमा व्याख्या गरिँदै आएको सन्दर्भमा उनले भने, ‘हिजोका दिनमा केही मतभेदहरू थिए होलान्, तर आज कांग्रेस एउटै लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।’

केन्द्रीय प्रतिनिधिका रूपमा जिल्लाका विभिन्न तह र तप्काका कार्यकर्तासँग छलफलपछि आफू ढुक्क भएको उल्लेख गर्दै घिमिरेले भने, ‘अहिले कार्यकर्तामा कुनै अन्योल छैन,  ‘सबैको नेपाली कांग्रेसलाई पहिलो शक्ति बनाउने उद्देश्य छ ।’ पार्टीभित्र देखिएको यो एकताले विपक्षीहरूलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाउने उनको दाबी थियो । 

नेपाली कांग्रेससँग सात दशकभन्दा लामो राजनीतिक इतिहास र निर्वाचन व्यवस्थापनको गहिरो अनुभव रहेको उल्लेख गर्दै घिमिरेले यसै अनुभवलाई कांग्रेसको मुख्य शक्ति बताए । ‘हामीले पञ्चायत ढाल्यौँ, राजतन्त्र अन्त्य गर्यौँ र संविधान दियौं । निर्वाचन कसरी लड्ने र जनताको मन कसरी जित्ने भन्ने कला कांग्रेससँग जति अरू कसैसँग छैन,’उनले आत्मविश्वासका साथ भने । 

उनका अनुसार यसपटक कांग्रेस भावनामा होइन, तथ्य, तथ्यांक र रणनीतिका आधारमा निर्वाचनमा जाने तयारीमा छ । प्रत्येक बुथदेखि पालिकासम्म संगठनलाई चुस्त बनाइएको र स्पष्ट निर्वाचन रणनीति तयार गरिएको उनले बताए । ‘हाम्रो एजेन्डा विकास र निष्ठाको राजनीति स्पष्ट छ,’घिमिरेले भने । 

रामेछापमा कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काको चर्चा गर्दै घिमिरेले उनलाई ‘स्वच्छ राजनीतिको मानक’को रूपमा प्रस्तुत गरे । ‘आजको राजनीतिमा धेरै नेतामाथि कुनै न कुनै बेला आरोप लाग्ने गरेको देखिन्छ । तर रामचन्द्र खड्का त्यस्ता नेता हुन्, जसको जीवन खुला किताब जस्तै छ,’उनले भने । 

‘जसको छवि स्वच्छ छ, जसले जनताको पसिनाको मूल्य बुझेको छ र जसको हातमा विकासको खाका छ, त्यस्तो व्यक्तिलाई मतदान नगर्नुपर्ने कुनै कारण छ र?’उनले प्रश्न गरे । देशको समग्र राजनीतिक अवस्थाबारे पनि टिप्पणी गर्दै घिमिरेले नेपाली कांग्रेस मुलुकको ‘मियो’ भएको दाबी गरे । ‘कांग्रेस कमजोर हुँदा देश अस्थिरतातर्फ जान्छ भन्ने कुरा जनताले बुझिसकेका छन्,’उनले भने । आगामी निर्वाचनपछि कांग्रेसले कसैको बैसाखी नटेकी बहुमत ल्याउने र मुलुकलाई समृद्धिको बाटोमा लैजाने दाबीसमेत उनले गरे । 

उनले पत्रकारहरूमार्फत कांग्रेसका कार्यकर्तालाई ठूला भाषण र जुलुसभन्दा जनताको घरदैलोमा पुगेर समस्या सुन्न आग्रह गरे । रामेछापका जनता चेतनशील रहेकाले यसपटक इमानदार र भरोसायोग्य नेतृत्वलाई नै छान्नेमा आफू पूर्ण विश्वस्त रहेको घिमिरेले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर