२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

बाजुरामा फलफूल खेतीप्रति किसानको आकर्षण बढ्दै

shivam cement
२०८२ माघ २६ गते २२:१७
Shares
बाजुरामा फलफूल खेतीप्रति किसानको आकर्षण बढ्दै

धनकृष्ण वि.क
बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा पछिल्लो समय फलफूल खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाका विभिन्न स्थानका किसानहरूले स्याउ खेतीलाई प्राथमिकताका साथ विस्तार गरिरहेका छन् । 

सुरुवाती चरणमा किसानहरूले आफ्नै लगानीमा स्याउका बिरुवा खरिद गरी रोपेका थिए । पछि हिमाली गाउँपालिकाले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै स्याउसँगै ओखर, कागती र सुन्तलाका बिरुवा वितरण गरेपछि फलफूल खेती थप विस्तार भएको हो । हाल एक परिवारले करिब २० देखि १ सयभन्दा बढी स्याउका बिरुवा रोपेका छन् । 

गाउँपालिकाबाट प्राप्त बिरुवाले राम्रो उत्पादन दिन थालेपछि किसानहरू थप उत्साहित भएका छन् । पछिल्लो समय स्याउ र ओखर दुवै खेतीप्रति आकर्षण बढ्दै गएको स्थानीय कृषक मोहन रावतले बताए । उनका अनुसार अहिले स्याउका रुखमा पहिलाभन्दा लटरम्म फल लाग्न थालेको छ ।

हाल उत्पादन भएको स्याउ मुख्यतया घरायसी प्रयोजन र आफन्तलाई वितरण गर्न पुगेको भए पनि व्यवसायिक रूपमा विस्तार गरे आम्दानीको राम्रो स्रोत बन्न सक्ने देखिएको छ । स्थानीय कृषक नरजित रावलका अनुसार पहिले रोपिएका केही स्याउका बिरुवासँगै पालिकाले उपलब्ध गराएका बिरुवाले खेती विस्तार गर्न सहज भएको छ । ‘स्याउ सिजनमा प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म बिक्री गर्दै आएका छौं’ उनले भने । 

अन्नबाली खेतीभन्दा फलफूल खेतीबाट बढी आम्दानी हुने सम्भावना देखिएपछि धेरै किसान स्याउ खेतीतर्फ आकर्षित भएको रावलको भनाइ छ । रुख ठूला हुँदै जाँदा उत्पादन पनि बढ्दै गएको उनले बताए ।
हिमाली गाउँपालिकाले हाल सातै वडाका किसानलाई वृक्षारोपण कार्यक्रमअन्तर्गत स्याउ, ओखर, कागती र सुन्तलाका बिरुवा वितरण गर्दै आएको छ । धेरै स्थानमा फलफूल बगैंचामा फल लाग्न सुरु भइसकेको गाउँपालिकाले जनाएको छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार विगतको तुलनामा हाल गाउँपालिकाभरिका अधिकांश कृषक फलफूल खेतीमा आकर्षित भएका छन् । ‘कृषकलाई उत्पादनमा मात्र सीमित नराखी बजारीकरणमा समेत जोड दिइएको छ,’ उनले भने । 

फलफूलको बजारीकरणका लागि गाउँपालिकाको केन्द्र धुलाचौरमा कोल्डस्टोर भवन निर्माण गरिएको छ । साथै, स्थानीय रैथाने बाली र फलफूलको भण्डारण तथा बिक्रीका लागि वडास्तरमा कृषि केन्द्र र फलफूल स्टोरका छुट्टाछुट्टै भवन निर्माण गरिएको छ ।

हाल हिमाली गाउँपालिकाभर करिब ३५ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएको र तीमध्ये धेरैमा फल लाग्न सुरु भएको छ । उत्पादन भएको फलफूल खेर जान नदिन बजार व्यवस्थापनमा गाउँपालिकाले सक्रिय भूमिका निर्वाह गरिरहेको अध्यक्ष मल्लले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर