
नयाँ दिल्ली, भारत : भारतको राजधानी नयाँ दिल्लीमा भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम (एसएजेएफ) इन्डिया च्याप्टरको संयुक्त आयोजनामा “दक्षिण एसियामा शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका” विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, भुटानलगायत दक्षिण एसियाली मुलुकका पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाबीच क्षेत्रीय शान्ति, सहकार्य र आपसी समझदारी प्रवर्धनमा पत्रकारिताको भूमिकाबारे व्यापक छलफल गरिएको थियो ।
भारतीय विद्यापीठका निर्देशक प्रोफेसर एम.एन. होदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो. अब्दुर रहमान, अन्तर्राष्ट्रिय सदस्य इस्मिता मिश्रा, श्रीलंका च्याप्टरका अध्यक्ष राहुल सामन्था तथा इन्डिया च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधांशुलगायतले सम्बोधन गरेका थिए ।
वक्ताहरूले सार्क क्षेत्र राजनीतिक, सामाजिक र कूटनीतिक चुनौतीले ग्रसित भए पनि निष्पक्ष, जिम्मेवार र तथ्यपरक पत्रकारितामार्फत शान्ति स्थापना तथा क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन सकिनेमा जोड दिए । पत्रकारिताले जनमत निर्माण, आपसी विश्वास अभिवृद्धि तथा द्वन्द्व न्यूनीकरणमा सकारात्मक भूमिका खेल्ने उनीहरूको धारणा थियो ।
सम्मेलनलाई भुटानका रिन्जिन वाङचुक तथा पाकिस्तान च्याप्टरका महासचिव हुश्नयन चौधरीले भिडियो सन्देशमार्फत सम्बोधन गर्दै दक्षिण एसियामा शान्ति, सहकार्य र सद्भाव विस्तारका लागि पत्रकारिताको योगदान अझ सशक्त हुनुपर्ने बताए ।
यसै अवसरमा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरद्वारा स्थापित तेस्रो युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार नेपालका नृपेन्द्र लाल श्रेष्ठ, भारतका शशिभूषण कुमार र श्रीलंकाका जानकालाई प्रदान गरिएको छ ।
त्यस्तै, पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राजु लामा, अब्दुर रहमान, राहुल सामन्था, नुर नबी, मो. योसूफुद्दिन, रुद्र सुवेदी, सार्क जर्नलिस्ट फोरम मधेस प्रदेश संयोजक महमद सदाब, अभिलाष गुप्ता, दिपेन्द्र प्रजापती, शैलेश साह कानु, अजमत अलीलगायतलाई पनि अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनले दक्षिण एसियाली मुलुकबीच पत्रकारितामार्फत शान्ति, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।