२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चुनाव आइसक्यो, अलमलमै छन् मतदाता

shivam cement
दिवाकर अधिकारी
२०८२ माघ २९ गते ०६:२५
Shares
चुनाव आइसक्यो, अलमलमै छन् मतदाता

काठमाडौं : २१ फागुनको मतदान जति नकिकिँदो छ त्यति निर्वाचन आयोगलाई मतदाताहरूको फोन बढ्दो छ । आयोगले मतदाताको जिज्ञासा तथा प्रश्न संकलन गर्न कल सेन्टर स्थापना गरेको छ । यही माघ ५ गतेदेखि सुरु भएको कल सेन्टरमा २ हजार ४ सय बढी प्रश्न तथा जिज्ञासा संकलन भएका छन् । 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आधाभन्दा बढी प्रश्न मतदाता नामावली र मतदान प्रक्रियासँग सम्बन्धित छन् । मतदान कसरी गर्ने ? मतदान गर्न जाँदा केकस्ता कागजपत्र लैजाने ? भन्ने जिज्ञासा गर्नेहरू छन् । यसले नागरिकहरूमा रहेको अलमल रहेको उजागर गरेको छ । 

निर्वाचन आयोगले मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि भनेर कल सेन्टर सञ्चालनमा ल्याएको छ । यही माघ ५ गतेदेखि सञ्चालनमा आएको कलसेन्टरमा मतदाताका २ हजार ४ सय बढी जिज्ञासा तथा प्रश्न संकलन भएका हुन् ।

मतदाता वा सरोकारवाला जोकसैले मतदानसँग सम्बन्धित कुनै प्रश्न तथा जिज्ञासा भएको खण्डमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सक्छन् । यसरी संकलित जिज्ञासा तथा प्रश्नहरूमा मतदाता नामावलीसँग सम्बन्धित जिज्ञासा र प्रश्नको संख्या १ हजार २ सय ४६ छ । मतदाता शिक्षाबारे ८८, निर्वाचन आचारसंहिताबारे २ सय ३२ वटा जिज्ञासा तथा प्रश्न रहेका छन् । २ सय ४७ वटा त भ्वाइस मेल छ । अन्य ५ सय ८७ वटा जिज्ञासा तथा प्रश्न रहेका छन् ।

नागरिकमा रहेको अलमल चिर्न भनेर आयोगले मतदाता नामावली र मतदाता शिक्षाबारे आएका जिज्ञासा र प्रश्नहरूको सम्बोधन गर्न स्वयंसेवक परिचालन गर्दै छ । निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रमका लागि देशभरका सबै वडामा एक÷एक जना स्वयंसेवकसमेत खटाउँदै छ ।

आगामी फागुन ३ गतेदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै छ ।

आयोगका अनुसार आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाहरूमा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । 

आयोग प्रवक्ता भट्टराईले विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसरी खटिएका स्वयंसेवकले आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउनेछन् ।’ 

निर्वाचन आयोगले विगतदेखि नै आयोगको सम्पर्क व्यक्तिका रूपमा सबै स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने गरेकामा आसन्न निर्वाचनमा पनि तिनै सम्पर्क व्यक्तिहरूलाई निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा तोकेको छ । मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम माघ महिनाको अन्तिमसम्म सम्पन्न भइसक्नेगरी कार्य भइरहेका छन् । साथै आयोगका आधिकारिक सामाजिक सञ्जालका पेजबाटसमेत निर्वाचनसम्बन्धी आवश्यक सामग्री प्रचारप्रसार भइरहेका छन् । 

आयोगबाट आमसञ्चार माध्यमबाट विभिन्न किसिमका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन एवं प्रसारण गर्ने तयारी गरिरहेको छ । विभिन्न सरोकारवालासँग छलफल एवं अन्तत्र्रिmयाका माध्यमबाट पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउने कार्य भइरहेका छन् । 

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ । यस कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, ७ सय ५३ स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गर्दै आएको छ ।

सम्बन्धित खबर