
काठमाडौं : आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचित भएर आउने सांसदहरूका लागि निर्माणाधीन सिंहदरबारस्थित नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार भएको छैन । सरकारी तथ्यांकअनुसार हालसम्म भवन निर्माणको काम करिब ८८ प्रतिशत मात्र सम्पन्न भएको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विगतदेखि संसद् बैठक सञ्चालन हुँदै आएको थियो । तर जेनजी आन्दोलनका क्रममा उक्त भवनमा तोडफोड र आगजनी भएपछि त्यहाँ पुनः संसद् बैठक सञ्चालन हुने सम्भावना न्यून देखिएको छ । त्यसपछि आगामी संसद् बैठक सिंहदरबारभित्र निर्माणाधीन नयाँ भवनमै राख्ने तयारी भइरहेको छ ।
२०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। तर निर्धारित समयसीमा सकिँदा पनि काम पूरा नभएपछि पटक–पटक म्याद थपिँदै आएको छ ।











