२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

उदयपुरमा रेडबुल एन्फा महिला च्याम्पियनसिप सुरु, एनआरटीको विजयी सुरुवात

shivam cement
बिन्द्र राई
२०८२ फागुन १ गते २०:४९
Shares
उदयपुरमा रेडबुल एन्फा महिला च्याम्पियनसिप सुरु, एनआरटीको विजयी सुरुवात

उदयपुर : उदयपुरमा सुरु भएको रेडबुल एन्फा महिला च्याम्पियनसिप २०८२ को उद्घाटन खेलमा न्यूरोड महिला फुटबल समूह (एनआरटी), काठमाडौंले विजयी सुरुवात गरेको छ । शुक्रबार गाईघाटको थरुहट रंगशालामा सम्पन्न खेलमा एनआरटीले गाईघाट महिला फुटबल समूहलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको प्रतियोगितामा दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा एनआरटीकी जर्सी नम्बर ११ की प्रतिक्षा ठकुरीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।

दोस्रो हाफमा एनआरटीकी जर्सी नम्बर ८ की शुसिला केसीले अर्को गोल थपेपछि एनआरटीको जित सुनिश्चित भयो । गाईघाट महिला फुटबल समूहले गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच प्रतीक्षा ठकुरी भइन् ।

प्रतियोगिताको उद्घाटन दक्षिण एसियाली फुटबल संघका महासचिव पुरुषोत्तम कट्टेल, एन्फा महासचिव किरण राई तथा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतलगायतले संयुक्त रूपमा गरेका थिए ।

च्याम्पियनसिपको विजेता टोलीले ७ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशभरका १० वटा महिला फुटबल टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा गाईघाट फुटबल समूह (उदयपुर), न्यूरोड (एनआरटी), त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, एपिएफ क्लब, रियल फुटबल समूह, आरएस रिसोर्ट, चर्च ब्वाइज, छहारी युवा समूह र संकटा फुटबल समूह रहेका छन् ।

शनिबार नेपाल प्रहरी महिला फुटबल समूह र रियल फुटबल समूहबीच तथा चर्च ब्वाइज र छहारी युवा समूहबीच खेल हुने तालिका रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर