२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चुनावी खर्चमा पारदर्शिताको प्रश्न, अधिकांश दल र उम्मेदवारले खोलेनन् बैंक खाता

shivam cement
दिवाकर अधिकारी
२०८२ फागुन २ गते ०६:४०
Shares
चुनावी खर्चमा पारदर्शिताको प्रश्न, अधिकांश दल र उम्मेदवारले खोलेनन् बैंक खाता

काठमाडौं : राजनीतिक दल र उम्मेदवारहरूले चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ । यीलगायतका प्रावधानसहितको निर्वाचन आचारसंहिता २०८२ लागू भएको एक महिना हुन लाग्यो । तर न्यून संख्यामा मात्रै दल र उम्मेदवारले छुट्टै बैंक खाता खोलेका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता गत माघ ३ गतेबाट लागू भएको थियो । त्यसयता शुक्रबारसम्म जम्म ४  वटा राजनीतिक दल र ४५४ जना उम्मेदवारले मात्रै चुनावी खर्चका लागि बैंक खाता खोलेका छन् । 

जबकि, प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या ६७ वटा र प्रत्यक्षतर्फ उम्मेदवारको संख्या ३ हजार ४०६ जना रहेका छन् । यसमध्ये केवल ४ वटा दल र ४५४ उम्मेदवारले मात्र बैंक खाता खोलेका हुन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चाले चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोलेका हुन् । 

गत १३ र १४ पुसमा प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ मनोनयन दर्ता भएको थियो । ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको थियो । समानुपातिकतर्फ जति संख्यामा उम्मेदवारी दिइएको छ त्यति संख्या बराबर दुई लाखका दरले सम्बन्धित दलले निर्वाचन खर्च गर्न पाउँछन् । 

प्रत्यक्षतर्फका उम्मेदवारको चुनावी खर्चको सीमा भने फरक–फरक छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक–फरक खर्च सीमा निर्धारण गरेको हो । 

आयोगका अनुसार काठमाडौंका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौं क्षेत्र नम्बर १, ३, ६, ७ र ८ रहेका छन् ।

खर्चको सीमाअनुसार देशभरका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउनेछन् । ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख खर्च गर्न पाउँछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउँछन् ।

यो खर्चलाई पारदर्शी बनाउने उद्देश्यले निर्वाचन आयोगले प्रत्येक दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न अनिवार्य गर्ने गरी आचारसंहिता बनाएर लागू गरेको हो । 

तर आचारसंहिता लागू भएको झन्डै एक महिनासम्म ६७ दल र ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये केवल ४ दल र ४५४ उम्मेदवारले मात्र बैंक खाता खोलेका हुन् । बाँकी अधिकांश दल र उम्मेदवारले चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोलेका छैनन् । 

निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार दल र उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न पाउँछन् । यसका लागि छुट्टै बैंक खाता खोल्नुपर्छ । निर्वाचन खर्चको विवरण चुनावी परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ ।

यो आचारसंहिता पालना नगर्नेलाई के कारबाही हुन्छ भन्ने विषयमा कडिकडाउ प्रावधान छैन । यसकारण पनि दलहरूले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने प्रावधानको पालना गरिरहेका छैनन् । 

निर्वाचनको समयमै दलहरूमाथि पारदर्शिताको प्रश्न उठ्ने व्यवहार उचित नरहेको बताउँछन् सुशासनविद् काशीराज दाहाल । यस्तोमा निर्वाचन आयोग नै थप सक्रिय हुनुपर्ने उनको आग्रह छ ।

उनी भन्छन्, ‘निर्वाचन आचारसंहिता पालना नगरेको खण्डमा कारबाही हुने भय दलहरूमा हुने वातावरण बनाउन सक्नुपर्छ । यसका लागि सम्बन्धित दल र उम्मेदवारलाई निर्वाचन आयोगले किन छुट्टै खाता नखोलेको भनेर स्पष्टीकरण सोध्ने र थप कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’

उनका अनुसार विगतमा पनि निर्वाचनमा आर्थिक चलखेल हुने गरेको आरोप लाग्ने छ । टिकट पाउनकै लागि समेत आर्थिक चलखेल अर्थात्, टिकट खरिदबिक्री हुने आरोप लाग्ने तितो आरोपहरू लाग्ने गरेको उल्लेख गर्दै उनले सुधारका स्थानीय स्तरमै निर्वाचन खर्चको अनुगमन गर्ने संयन्त्र हुनुपर्ने बताए  । 

उनी थप्छन्, ‘सुधारका लागि निर्वाचन आयोगले सक्रियता देखाएन भने पारदर्शिताको प्रश्न उठिरहन्छ र सुधार नहुने प्रवृत्तिले निरन्तरता पाउँछ ।’ 

ताजा खबर

सम्बन्धित खबर