– अर्जुन यावा, पूर्व सिक्किम
बिहानै डाँडागाउँ पुग्दा दुई÷तीन जनाले समाचार–पत्रहरू हेरिरहेका थिए । छिमेकी भीमदाजु समाचार–पत्रहरू मिलाइरहनु भएको थियो । बिहान प्रायः भीमदाजुलाई व्यस्त नै पाइन्छ । चासो दिएर बिहानै त्यत्ति पत्र–पत्रिका हेर्ने गरेको छुइँन । तर पनि यहाँ आइपुगेपछि एकपल्ट कुनै–कुनै पत्रिका हेरिहाल्छु । आफ्नै पत्रिका कस्तो आएछ ? चासोको पहिलो विषय हुन्छ । अहिले पनि त्यस्तै भयो । अनि टेबलमा मिलाएर राखिएका समाचार–पत्रहरूबाट निकालेँ ‘समय दैनिक’ ।
सबैको ध्यान लिड न्यूज के छ ? सेकेण्ड लिडमा के छ ? सत्तापक्षले के भनिरहेका छन् ? विपक्षकाहरूले के भन्दैछन् ? राज्यमा नयाँ घटना के हुँदैछ ? यस्तै–यस्तैमा थिए । मैले पनि त्यसै गरेँ । हामीले बिहानै समाचार पत्रिकामा हेर्नुपर्ने भनेको पहिलो पाता नै हो । पहिलो पाता अर्थात् स्थानीय गतिविधि । आफू स्वयम् पत्रकारिता पेशामा भएकाले होला ती समाचारहरूले मलाई त्यति ध्यानाकर्षण गर्दैन । ‘हेडलाइन’हरू सर्सर्ति हेरेपछि भित्रि पृष्ठका राष्ट्रिय समाचारहरूमा मेरा आँखा पुग्छन् ।
समाचारहरु– भ्रष्टाचारको विरोधमा भोक हड्ताल, देशमा भ्रष्टाचार रोकिनुपछ : अन्ना हजारे, केजरीवालले दिल्लीलाई भ्रष्टाचारमुक्त गर्ने, गैरकानूनी ढंगमा विदेशमा निवेश गर्न नपाइने, विदेशी बैंकहरूमा पुँजी राख्नु अवैध, विदेशी बैंकहरूमा पुँजी राख्नेहरूको सूची जारी यस्तै यस्तै थिए । प्रायः समाचार पत्रहरूमा दोहोरिरहने राष्ट्रिय समाचारहरूका हेडलाइनहरू नै रहेछन् आज पनि ।
‘ए...! यावा’ पनि रहेछ । कतिबेला...?’
प्रश्न मेरै लागि थियो । टाउको फर्काएँ दाहिनेतिर । ‘रावत’ दाजु हुनुहुन्थ्यो। प्रतिउत्तरमा ‘भर्खर–भर्खरै । तपाईं नि..?’ सोधेँ ।
‘इ..., जस्ट पेपर टिप्दैछु’, भन्नुभयो । ‘हिमाली बेला’ रहेछ उहाँको हातमा । हिमाली बेला अथवा रावत दाजुले भन्नुभएको ‘पेपर’। दैनिक नेपाली समाचार पत्र ।
‘के छ हौ नयाँ–नौलो ?’ सोध्नुभयो मलाई । आँखा तर मतिर होइन, समाचार–पत्रमै थियो यतिबेला ।
‘छैन हौ त्यस्तो केहि...।’ हेरेर उत्तर दिएँ उहाँलाई ।
मेरो हातमा भएको समय दैनिक अघि टिपेकै ठाउँमा मिलाएर राखिदिएँ । सबैले टिपेर हेर्दै नमिलाई फ्यात्त फ्याँकिदिएर जाँदा भीम दाजुलाई कहिलेकाहिँ त रिस उठ्दो हो ! सम्झन्छु । त्यसैले जहिल्यै पनि समाचार पत्रहरू हेरेको समय मिलाएरै राखिदिन्छु, जस्ताको जस्तै । पत्रिका राखिदिएँ अनि रावत दाजुतिर हेर्दै भनेँ, ‘गएँ है दाजु ।’
रावत दाजुले दुईहातले दुई छेउ समाएर हेर्दै गरेको समाचार–पत्रका दुवै पाता देब्रे हातमा अड्याउँदै दाहिने हात मतिर बडाउनुभयो । त्यसपछि ‘ल...’ भन्दै फेरि प्रश्न गर्नुभयो ‘कता? घरतिरै कि ?’
‘हजूर ।’ भनेर म आफ्नो बाटो लागेँ ।
रेडियो स्टेशन पुग्नु थियो । त्यसैर फेरि डाँडा गाउँ पुग्नैपर्ने । पुगेर ट्याक्सी पर्खिरहेको थिएँ । सोमबार प्रायः ट्राफिक जाम हुनेगर्छ । अझ महिनाको पहिलो साता सोचेको समयमा पुग्नुपर्ने ठाउँ पुग्नु गाह्रो पर्छ । यो नयाँ कुरा होइन । गान्तोकको यो समस्यासित कोही अनभिज्ञ छैनन् । समाधान तर, कहिले हुनसकेको छैन । सायद हुँदैन पनि । किनभने समाधानको लागि विकल्प पनि त चाहियो । यसको फाइदा उठाउनेहरू तर खुशी हुन्छन् ट्राफिक जामसित । ट्राफिक जाम नहुँदा नै पनि ‘सर जाममा परेको छु, अलिक ढिलो हुन्छ होला...।’ भनिरहेका हुन्छन् । तर अहिले म साँच्चै ट्राफिक जामको चपेटमा छु । बाहनहरू घस्रिरहेका छन् सडकमा । म सडक छेउ उभिएको छु ट्याक्सी पर्खेर । सबै प्याक ।
झण्डै १५ मिनटपछि एउटा प्राइवेट कार मेरो छेउमै रोकियो । झट्ट ध्यान गइ हालेन त्यसमा । ‘टिट्..टिट्...’ हर्न बज्यो । ‘याँ आफूलाई अबेर हुन लागेको बेला...’ मनमनै सोच्दै झर्को माने झैं हेरेँ । ‘आइ–२०’ थियो मेरो अघि रोकिएको ।
‘बजारतिर हो ?’ प्रश्न र हातको इशारा एकैसाथ मेरै निम्ति थियो । ‘जाउँ’ भनेर अघिल्लोपटिको दैलो खोलिदियो उसले । ‘ऊ’ अथवा विवेक ।
विवेक उही थियो, जोसित म सँगै कलेज पढेको थिएँ । कलेजको पहिलो भेटमै हाम्रो मित्रता भएको थियो । गाउँको स्कूल पढेर आएका एक सोझो ठिटो थिए उनी त्यस समय । म जस्तै एक गरीब बाबुका छोरा । कलेसम्मको पढाइपछि कहाँ हराएको थियो, थाहा भएन । वर्षौंपछिको भेटमा पनि चिनिहालेछ मलाई । र त रोकिदिए गाडी मेरै निम्ति । चढेँ । साँच्चै हो, आइ–२० मै चाहिँ पहिलोपल्ट चडिरहेको थिएँ ।
‘साथी के छ हौ खबर ?’ उसको प्रश्न थियो गाडीमा चढिसकेपछि ।
‘सबै ठिकठाकै छ ।’ सिधा जवाब दिएँ ।
‘कविता लेखिँदैछ ?’ मतिर फर्किँदै सोध्यो । ‘थुक्क लोदर ।’ मैले केही भन्न नभ्याई ट्राफिक जामसित झोक्किँदै थियो ऊ ।
‘बेला–बेला लेख्दैछु नि’ भनेँ । फेरि सोधेँ मैल, ‘के गर्दैछौ नि कामकुरो ?’ अनि मनमनै सोचेँ आइ–२० त्यसै त कुदाइरहेका पक्कै होइनन् ।’
‘टिट्...टिट्...’ जाम खोलिएछ । पछाडिको गाडीलाई हतार लाग्यो । ‘सबैलाई हतारै छ त हौ...। दुई सेकेण्ड ढिलो गर्नु हुँदैन, हर्न बजाउनै पर्ने...।’ गनगनिदै बढायो गाडी उसले ।
‘ए...! के पो सोद्धै थियौ ?’ सोध्यो उल्टै मलाई ।
प्रश्न दोहोर्याइदिएँ, ‘अहिले के गर्दैछौ ?’
‘ए... अँ...’ भनेर ‘केही छैन हौ ।’ भन्यो अनि त्यही प्रश्न मलाई फर्कायो ।
‘म त पत्रकारितामा छु ।’ सिधा जवाब थियो मेरो ।
‘विवाह गर्यो त नि...?’ मलाई सध्यो।
‘निकै भइसक्यो नि ।’ भनेँ मैले ।
‘मैले लास्ट इयर जयलाई भेटेको थिएँ । उसैले भनेको ।’ भनेर फेरि प्रश्न थप्यो, ‘नानी छ ?’
‘एउटी छोरी छे ।’ फेरि भनें ।
‘कति वर्षकी ?’ सोध्छ होला सम्झेको थिएँ, ‘साँची जय त टिचिङ गर्दै थियो एडहकमा । गर्दैछ ?’ सोध्यो ।
‘छोडेर पुरानै विजनेस गर्दैछ ।’ उसको जवाब दिएँ । ‘तिमी पनि त्यसै त बसेको छैनौ नि...!’ फेरि जान्न खोजेँ ।
‘के भन्नु यार ! गर्दैछु । कन्सोलिडेटेडमा छु नि ।’ थोरै निरुत्साह पढेँ यतिबेला उसको मुहारमा । फेरि सोचेँ, “कन्सोलिडेटेड जभ, अनि ड्युटी जानु आइ– २० मा चढेर ?’
‘ठिकै छ । अनि... बिवा गर्यौ ?’ प्रश्न गर्दै नजानिँदो उसको शीर–पाउ दगुराएँ दुई नयन अनि आफैलाई खुट्टादेखि घाँटीसम्म नियालेँ । फेरि हेरेँ स्ट्रिङ अगाडि राखेको उसको सामसुङ गेलेक्सी ग्राण्ड–२ र एप्पल आइ फोन–६ अनि मोबाइलको हिसाब लगाएँ । लगभग पैंसठ–सत्तरी हजार ।
‘गरेँ नि । क्या त मैले प्रपोज गर्दा भागिहिँड्थी नि...!’
मैले बिर्सिएछु । सम्झने प्रयास गर्दैथिएँ । उसैले भन्यो, ‘सुनिताले फाइनल इयरमा त एक्सेप्ट गर्यो नि ।’ यतिबेला थोरै खुशी दौडिएको प्रष्टै देखिन्थ्यो उसको मुहारमा ।
‘नानीहरू ?’ छोटो प्रश्न थियो मेरो ।
‘छोरा र छोरी एक–एकजना ।’
‘कम्प्लिट फ्यामिली रहेछ ।’ मेरो यो वाक्यले ऊ खिसिक्क हाँस्यो । सायद खुशीमा।
‘मलाई यतै रोकिदेउ है’ आइडीबीआइअघि पुग्दा हङ्ग्रीज्याकतिर देखाउँदै भने ।
‘हङ्ग्री ज्याक’ भनेर होटललाई भन्दा धेरै ट्याक्सी स्टपेज भन्ने बुझिन्छ । अझै धेरैले ‘पेट्रोल पम्प’ भनिदिन्छन् । त्यहाँबाट ‘पम्प’ हटाइएको धेरै भइसकेको छ । तर यो ठाउँको नामै भइसकेको छ ‘पेट्रोल पम्प’। हामी पुग्यौं । म ओर्लिएँ ।
‘सी यू अगेन ब्र...।’ भनेर ऊ अघि बढ्यो । म टाइटनिकतिर लागेँ । साथीहरू हेरेँ । कोही थिएनन् । रेडियोमा रेकर्डिङ पनि अझै आधी घण्टापछि मात्रै थियो । ‘आ जाँदैगर्छु...’ सम्झेँ अनि हिँडे । एसबीआइको अगाडी हुँदै रुची क्लिनिकको छेउबाट एसटीएनएम निस्किएँ । कसैसित केही बोल्नु थिएन । एसटीएनएम अगाडि राखिएका बाहनहरूले बाटोसम्म छोडेको हुँदैन कहिलेकाहिँ । आज पनि त्यस्तै रहेछ । मनमनै गनगनाउँदै इमरजेन्सी वार्डअगाडिबाट छिरेँ । ‘बेस्सी नै सर्टकट खोज्नेहरूको लाइफ पनि सर्टकट नै हुन्छ’ भनेको सुनेको थिएँ, कति सत्य हो ? थाह छैन । मैले तर सर्टकट नै रोजेँ । त्यसैले एसटीएनएमदेखि पनि हाइकोर्ट हुँदै फूटपाथ निस्किएर पुगेँ आकाशवाणी गान्तोक स्टुडियो ।
काम सकियो ।
झट्ट सम्झना भयो कुन्नि केको र्याली निकाल्ने कुरा थियो..। लागेँ एमजी मार्गतिर ।
‘ओए...! कहाँ छस् ?’ फोन गरेँ झरनालाई ।
‘टाइटनिकमा ।’ छोटो जवाब आयो । फेरि सोधिन्, ‘तपाईं कहाँ हुनुहुन्छ ?’ अनि भनिन्, ‘आउनु न, कोनि केको र्याली निकालेको रहेछ । आइपुग्नु आँट्यो ।’
‘ल... ल...! आउँदैछु ।’ भनेपछि मोबाइल गोजीमा हालेँ ।
‘भ्रष्टाचार रोक्नुपर्छ...।’ तिक्खो नारी स्वर सुनेँ एसटीएनएमको इमरजेन्सी वार्ड क्रस गर्दा–नगर्दै । पछिपछि ‘रोक्नुपर्छ..., रोक्नुपर्छ...।’ थपिरहेका थिए एक हूल स्वरहरूले । मेरा दुई पाइला स्वतः हतारिरहेका थिए । दुई नयन त्यतैतिर अघि नै दगुरीसकेछन् । ‘कुरा के रहेछ ?’ जान्ने मनभन्दा दुई नयन छिट्यो पुग्यो भीडमा मिसिन । राजमार्ग उकालो आइरहेको त्यो हूलसितै घुमेर मेरा दुई नयन पनि टाइटनिक मै थुप्रिन पुगेँ ।
बल्ल पुगेँ । खोजेँ झरनालाई । फोटो खिचिरहेकी थिई । राष्ट्रिय टेलिभिजनहरूमा हेरिँदै गरेको कुराले राज्यमा पनि प्रवेश गरेछ । यति बुझेँ । देश र राज्यको इश्युलाई कम्पायर गरेँ । फेरि निक्र्यौल मन लाग्यो भीडभित्रका अनुहारहरू । थोरै चिनेकाहरू । थोरै कतै चिनेकाहरू जस्ता लाग्ने । धेरै नदेखिएकाहरू । हुनसक्छ कतै, कहिँ, कुनै समय यस्तै भीडहरूमा देखिएका होलान् । तर अपरिचित । अनुहारहरू सबै टुङ्गिएका थिए टाइटनिकमा आएर । अघिको तीखो स्वर अहिले त्यत्ति उत्साहित थिएन । शान्त भइहालेको पनि थिएन ।
‘घुसखोरी र भ्रष्टाचारी होसियार...।’ अचानक अर्को ठूलो स्वर चर्कियो ।
‘होसिया..., होसियार...।’ पछ्याएको थियो भीडले ।
‘को रहेछ फेरि..?’ हेरेँ । देखेँ, हातमा प्ले कार्ड । झट्ट चिन्न सकिन । भीड थियो । चिन्न खोजेँ । चिने । निधारमा चिटचिट पसिना । आँखामा एकप्रकारको क्रोध । मैले राम्ररी ठम्याएँ । हो ऊ मेरै साथी थियो । मेरो साथी विवेक । भीड अझै शान्त भएको थिएन । गुञ्जी रहेका थिए स्वरहरू अझै । सोचेँ, भीडभित्र मैले देखेको त्यो अनुहार सत्य हो !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies