२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

कवि लाकोजूसँग अन्तरसंवाद

shivam cement
२०८२ फागुन २ गते २२:१४
Shares
कवि लाकोजूसँग अन्तरसंवाद

भक्तपुर : कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

बुक क्लब भक्तपुरले आयोजना गरेको कार्यक्रममा साहित्य, जीवन, इतिहास, संस्कार र सिर्जनाका विविध आयाममाथि गहिरो छलफल गरिएको थियो । 

लाकोजूले पनौतीजस्तो सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानमा जन्मिएर हुर्किएको स्मरण गर्दै बाल्यकालदेखि जात्रा–पर्व, मठमन्दिर र स्थानीय संस्कारबाट प्रेरणा पाएको बताए । उनले संस्कृतिहरू नै हाम्रो पहिचान भएको उल्लेख गर्दै तिनै आधारबाट आफ्नो सिर्जनात्मक यात्राले दिशा पाएको धारणा व्यक्त गरे । 

कार्यक्रममा उनका कविता, मुक्तक, कथा, हाइकु, नियात्रा, अनुसन्धानमूलक निबन्ध, संस्मरण, अनुवाद तथा बालसाहित्यसम्म फैलिएको सिर्जनात्मक विस्तारको चर्चा गर्दै उनलाई ‘बहुभाषिक र बहुविधात्मक स्रष्टा’का रूपमा परिचित गराइएको थियो । नेपालीसँगै हिन्दी, अंग्रेजी र नेपाल भाषामा कलम चलाएर उनले पृथक पहिचान बनाएको उल्लेख गरिएको थियो । 

प्रश्नोत्तर क्रममा उनले आफ्नो लेखनको मूल प्रेरणा तत्कालीन परिवेश, सामाजिक घटनाक्रम र समाजप्रतिको दायित्वबोध भएको बताए । 

‘साहित्य परिवर्तनको प्रतीक हो, यसले सिंगो समाजलाई सकारात्मक ऊर्जा दिन सक्छ,’ उनले भने । 

उनले ‘घाम’लाई आफ्नो सिर्जनामा बारम्बार प्रयोग गर्ने प्रतीकका रूपमा उल्लेख गर्दै घाम केवल उज्यालोको प्रतीक मात्र नभई सकारात्मक ऊर्जाको प्रतीक भएको विचार राखे । 

अन्तरसंवादमा उनका विभिन्न विधाका कृतिमाथि विशेष चर्चा गरिएको थियो । उनका ६ वटा कविता संग्रह, ५ वटा मुक्तक संग्रह, एक कथा संग्रह, दुई हाइकु संग्रह, तीन अनुसन्धानमूलक तथा सांस्कृतिक निबन्ध, दुई जीवनीपरक÷प्रेरक कृति, करिब एक दर्जन बालसाहित्य कृति, नियात्रा कृति ‘आसामको स्पर्श’, एक गीत संग्रह, संस्मरण ‘स्मृतिको आँखिझ्यालबाट’ तथा सिर्जना–प्रशिक्षणसम्बन्धी ‘सिर्जना लेखनकला’ उनका महत्वपूर्ण प्रकाशनका रूपमा चर्चा गरिएका थिए ।

कार्यक्रम सञ्चालक हरिसुन्दर छुकांले कवि लाकोजूको लेखन यात्रा, चुनौती, अवसर र भावी योजनाबारे दर्जनभन्दा बढी जिज्ञासा राखेका थिए । जवाफमा लाकोजूले आफूलाई ‘अक्षरकर्मी’को रूपमा चिनाउँदै आफ्नो लेखनले देश र समाजलाई सकारात्मक योगदान दिनुपर्छ भन्ने धारणा व्यक्त गरे । अन्तरसंवादका बीच–बीचमा उनले कविता वाचन गर्दै देश, काल र परिस्थितिको सजीव चित्रण प्रस्तुत गरेका थिए ।

लेखक लोभ, लालच र डरभन्दा माथि उठेर सत्यको पक्षमा उभिनुपर्ने बताउँदै उनले साहित्य क्षेत्रमा देखिएका केही विकृतिप्रति कटाक्षसमेत गरे । कार्यक्रममा उपस्थित महानुभावहरूले उनका काव्य प्रवृत्तिगत विशेषता, प्रकृतिप्रेम, आध्यात्मिक संवेदना, संघर्ष र योजनाबारे जिज्ञासा राखेका थिए । 

सहभागीहरूले यस्ता कार्यक्रमले साहित्यलाई पाठ्य विषयमात्र नभई जीवित अनुभवका रूपमा बुझ्ने अवसर प्रदान गर्ने बताए । कार्यक्रमको अन्त्यमा बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले कवि लाकोजूलाई मायाको चिनो प्रदान गरेका थिए । कवि लाकोजूका छोराको कविता वाचनबाट प्रारम्भ भएको कार्यक्रम ‘बदलिँदै आयौँ’ शीर्षकको कविता वाचनसँगै समापन भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर