
काठमाडौं : खोटाङ हलेसी सेवा समाज काठमाडौंको आयोजना तथा खोटाङ कलाकार समाज काठमाडौंको सहकार्यमा दक्षिणकालीमा बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा खोटाङ हलेसी सेवा समाजमा आबद्ध ३ सय ५० भन्दा बढी खोटाङेहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खोटाङ कलाकार समाज काठमाडौंमा संलग्न चर्चित कलाकारहरूले लोकसंगीत र सांस्कृतिक कार्यक्रमसहित सहभागीहरुको मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति राखेका थिए ।
संस्थाका महासचिव सुरेन्द्र कटुवालले यसपटकको वनभोज कार्यक्रम खोटाङे दाजुभाइ तथा दिदीबहिनीहरूको आपसी एकता, सद्भाव अभिवृद्धिका लागि रहेको बताए । कार्यक्रममा खोटाङ कलाकार समाज काठमाडौंसँग सम्बद्ध चर्चित कलाकारहरूले लोकसंगीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
सोही अवसरमा दि भ्वाइस अफ नेपाल सिजन–७ को टप–४ मा पर्न सफल खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङका सागर संसार राईलाई हार्दिक बधाई तथा सफल सांगीतिक यात्राको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी टंकबहादुर श्रेष्ठ, कर्णेल सुवास केसी, प्रहरी उपरीक्षक मिलन केसी, प्रहरी उपरीक्षक कविन्द्र राई, समाजसेवी बम बानियाँ, संविधानसभा सदस्य हिरा गुरुङ, समाजसेवी हेमराज कार्की, समाजसेवी महेश जोशी तथा नेपाल सरकारका उपसचिव देवराज कटुवाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
साथै ‘सागर संसार राई जिताऊ’ अभियानलाई सफल बनाउन कार्यक्रममा सहभागीहरूबाट ९० हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको पनि महासचिव कटुवालले जानकारी दिए । अध्यक्ष थापा तथा पूर्वअध्यक्ष र सल्लाहकार संयोजक कटुवालले सम्पूर्ण सहभागी, सहयोगी तथा कलाकारहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै एकता र सहकार्य कायम राख्न आग्रह गरेका थिए ।
संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार संयोजक कर्णराज कटुवालले प्रारम्भिक चरणदेखि नै संस्थालाई सुदृढ आधार प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०६७ साल फागुन ११ गते काठमाडौंको काँडाघारीमा केन्द्रीय कार्यालय रहने गरी स्थापना भएको सामाजिक संस्था हो । २ सय ६७ घरधुरी खोटाङे सदस्य आबद्ध रहेको संस्थाका संस्थापक अध्यक्षहरूमा गोविन्द भट्टराई, कर्णराज कटुवाल, गणेश बस्नेतले नेतृत्व गर्दै हाल इन्दा थापाले सक्रियता र समन्वयकारी नेतृत्व गरी संस्थालाई प्रभावकारी रूपमा अघि बढाइरहेकी छन् ।
समाजले सांस्कृतिक कार्यक्रमसँगै स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र खोटाङबाट उपचारका लागि काठमाडौं आउने आर्थिक समस्यामा रहेका बिरामीलाई सहयोग गरिरहेको पूर्वअध्यक्ष कटुवालले बताए ।
त्यसैगरी खोटाङे एकता अभिवृद्धिका लागि खोटाङमा जन्मिएका पाइलट, चिकित्सक तथा विभिन्न क्षेत्रमा सफल व्यक्तित्व जेष्ठ नागरिक सम्मान कार्यक्रम पनि गरिरहेको छ । पूर्वअध्यक्ष तथा सल्लाहकार संयोजक कटुवालका अनुसार वर्तमान अध्यक्ष थापाको नेतृत्वमा समाजसेवी गतिविधिहरू अझ व्यवस्थित र प्रभावकारी बनाइएको छ ।