
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चुनावी प्रचारप्रसारको समय सुरु भएको छ । सोमबारबाट सुरु भएको प्रचार–प्रसारको समय फागुन १८ गतेसम्म चल्नेछ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूका लागि चुनावी प्रचारप्रसारका लागि समयसीमा तोकिएको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘निर्वाचन आचार संहिता २०८२ ले राजनीति दल, उमेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।’
‘निर्वाचनको निष्ठतालाई उच्च प्राथमिकतामा राखेर दल तथा उमेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार प्रसार गर्नुहुनेछ भन्नेमा आयोग विश्वस्त रहेको छ’ भण्डारीले भनेका छन्, ‘आयोग चाहन्छ, राजनीति दल तथा उमेदवारहरूलाई आचारसंहिता उल्लंघन भयो भनेर मात्र पत्र काटेर स्पष्टिकरण सोध्ने कानुनी कारवाहीका लागि अघि बढ्नुपर्ने अवस्था नआओस् ।’
उनका अनुसार चुनावी प्रचारको १५ दिनको अवधिमा जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यममार्फत सामग्री प्रचार गर्न पाइनेछ । १८ गते राति १२ बजेपछि भने मौन अवधि सुरु हुनेछ । मौन अवधिमा कुनै पनि प्रकारको प्रचार गर्न पाइने छैन । आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्छ ।
‘आचारसंहिता उल्लंघन गरेको ठहर भएमा उम्मेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्नसक्छ,’ भण्डारीले भनेका छन् ।
निर्वाचन आयोगका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा उजुरी प्राप्त भएकाहरूको सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ । हालसम्म ३० भन्दा बढीको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत् स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।
जिल्लास्तरमा निर्वाचन आचारसंहिना उल्लंघनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उनले जानकारी दिए ।
७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्ला स्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ ।