स्थानीय चुनावको प्रारम्भिक नतिजा प्रतिकुल आएपछि नेकपा एमालेले आशंकायुक्त बक्तव्य सार्वजनिक गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बक्तव्य जारी गर्दै चुनावमा धादली भएको निष्कर्ष सार्वजनिक गरे । उनको १५ बुँदे बक्तव्यमा चुनाव अगाडि, चुनावका क्रममा र त्यसपछि पनि धादली भएको निष्कर्ष समेटेका छन् । विशेषगरी सत्ताको दुरुपयोग गरिएको एमालेको तर्क छ । गृह प्रशासनलाई आफ्नो पक्षमा पारेर सत्ता गठबन्धनले आफ्नो अनुकुल हुनेगरी प्रहरी प्रशासन र सरकारी कर्मचारीलाई प्रभावित बनाएको पोखरेलको बक्तव्यमा छ । कतिपय ठाउँमा भएको मतभेद र झडपलाई एमालेले सामान्यीकरण गर्न खोजेको देखिन्छ । बक्तव्यप्रति निर्वाचन आयोगले गम्भीर नभए अदालत जाने एमाले नेताहरुले बताउन थालेका छन् ।
एमालेको मागबारे न्यायोचित सुनुवाइ पक्कै आयोगले गर्नेछ । निर्वाचन स्वच्छ बातावरणमा भएको वा एमालेले भनेजस्तो धादली भएको भन्ने निक्र्यौल अनेक ठाउँबाट हुन सक्छ । त्यस मध्ये पर्यवेक्षणमा खटिएका निकाय र व्यक्तिहरुको प्रतिवेदन एउटा महत्वपूर्ण प्रमाण हुन सक्छ । कुनै विन्दुमा गएर एमाले आरोपको निरुपण हुने नै छ । तर बक्तव्यको सार भनेको एमालेको हार स्वीकार पनि हो । किनकि जितको अवस्था थियो भन्ने पक्कै पनि एमालेले धादलीको निष्कर्ष निकाल्ने थिएनन् । यसअघि पनि जितिरहेको दल भन्दा पनि हारिरहेको शक्तिले धादलीको आरोप लगाउने गरेको देखिन्छ । ०७० को चुनावमा माओवादीले चुनाव बहिष्कारकै निर्णय गरेको थियो । तर पछि सेफ ल्याण्डिङ गर्दै दोस्रो संविधानसभामा सहभागी भयो र संविधान जारी भयो ।
अहिले एमाले नेताहरुले अदालत जाने चेतावनी दिन थालेका छन् । अदालत जान पाउनु संवैधानिक अधिकार हो, एमालेले त्यो अधिकार प्रयोग गर्न सक्छ । तर कुनै दल विशेष नै अदालतमा जाने नजीरले भने सही ठाउँ लैजादैन । किनकि पराजित शक्ति अदालत जाने प्रवृत्तिको विकास भएमा चुनाव नै हुन नसक्ने अवस्था बन्न सक्छ । यसअघि व्यक्ति विशेष अदालतमा जाने गरेको देखिन्छ । ढिलोचाँडो न्याय पनि पाउने गरेका छन् । तर दल विशेष नै अदालतले जाने चेतावनी दिनुले निर्वाचनको स्वच्छता भन्दा पनि पराजय स्वीकार्न नसकेको बुझाइ आम पंक्तिमा जान सक्छ । यसले लोकतन्त्रलाई बलियो बनाँदैन, एमालेले आवधि निर्वाचन हार्दैमा केही गुम्दैन भन्ने बुझ्न जरुरी छ । जनताको सेवा गर्नका लागि प्रतिपक्षी भूमिकालाई पनि संविधान सम्मान गरेको छ र अर्कोपटक फेरि जित्नेगरी काम गर्ने अवसर पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies