
काठमाडौं : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भदौ २३ र २४ गते भएका घटनामा राज्यको असावधानी र कमजोरीका कारण स्थिति गम्भीर बनेको बताएका छन् । भिडियो सन्देशमार्फत उनले ती दुई दिनका घटनालाई एउटै तरिकाले व्याख्या गर्न नमिल्ने उल्लेख गर्दै फरक-फरक कोणबाट विश्लेषण गर्नुपर्ने बताए ।
भट्टराईका अनुसार भदौ २३ गते नवयुवाहरूको निर्मम हत्या हुनुमा राज्यको कमजोरी स्पष्ट देखिन्छ । “त्यसका लागि हामी आत्मालोचित छौं र राज्यका तर्फबाट भएका कमीकमजोरी स्वीकार गर्नुपर्छ,” उनले भने । तर भदौ २४ गते भने स्वाभाविक आक्रोश मात्र नभई राज्यविरुद्ध लक्षित संगठित आपराधिक गतिविधि र षड्यन्त्रसमेत देखिएको उनको भनाइ छ ।
जेनजी आन्दोलन भइरहँदा गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेको स्मरण गराउँदै उनले यसमा भएको कमजोरीको जिम्मेवारी एमालेले मात्र बोक्नुपर्ने अवस्था नरहेको बताए ।
आसन्न निर्वाचनको सन्दर्भ उल्लेख गर्दै भट्टराईले नेकपा एमाले र जेनजी समूहबीच देखिएको दूरी तथा अन्तर्विरोध दीर्घकालसम्म रहन नहुने बताए । “संवाद र सहमतिबाट यी विवाद समाधान गर्दै अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ म यहाँ उपस्थित भएको हुँ,” उनले स्पष्ट पारे।
उनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गर्न सकारात्मक पहल गरिने जानकारी दिए । साथै, सुशीला कार्की नेतृत्वको सरकार र जेनजी समूहबीच समझदारी प्रक्रियामा केही असहमतिहरू भए पनि मुख्य विषयवस्तुमा विमति नरहेको दाबी गरे ।
भट्टराईका अनुसार जेनजीले उठाएका कतिपय माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक पर्न सक्छ । भदौ २४ गते भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिलाई क्षम्य नमानिने बताउँदै उनले ती घटनाको छानबिनका लागि बनेको आयोगको प्रतिवेदनले थप स्पष्टता ल्याउने विश्वास व्यक्त गरे ।