
जनकपुरधाम : मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ताले हत्या गरिएका सब–इन्जिनियर प्रमोद कुमार यादवका परिवारलाई १५ दिन बराबरको तलब बराबर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री गुप्ताले उक्त निर्णय सार्वजनिक गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरे । उनले पीडित परिवारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालय सधैं साथमा रहने प्रतिबद्धता जनाए ।
मन्त्रालयका निमित्त सचिव संजय प्रसाद साहका अनुसार सहयोग अभियानमा मन्त्रालयका कर्मचारीहरूले समेत योगदान गर्ने निर्णय गरिएको छ । जसअनुसार अधिकृतस्तरका कर्मचारीले पाँच दिन, सहायकस्तरका कर्मचारीले तीन दिन तथा श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउनेछन् । संकलित रकम मृतक यादवको परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ ।
गत आइतबार साँझ सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित उनको भाडाको घरमै अज्ञात व्यक्तिले गोली प्रहार गरी यादवको हत्या गरेका थिए ।
घटनापछि पूर्वाधार विकास कार्यालयका कर्मचारीहरूले विरोध प्रदर्शन जारी राख्दै आएका छन् । कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र मृतक यादवलाई शहीद घोषणा गर्न माग गरेका छन् ।