
काठमााडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।
मंगलवार काठमाडौंमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरुसँगको छलफलमा बोल्दै उनले त्यसतर्फ सञ्चार माध्यमहरुलाई सचेत गराएका हुन् । मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने उम्मेदवारहरुलाई हतोत्साही बनाई प्रतिष्पर्धाको वातावरणलाई खलल पुर्याउने भएकाले निर्वाचन अघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम गर्न नहुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।
उनले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भिर बन्न पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भुमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरे ।