
दोहा कतार : इस्लामिक धर्मालम्बीहरूको पवित्र पर्व रमदान मध्यपूर्वमा भोलि अर्थात् बुधबारबाट सुरु हुने भएको छ । रमदान एक महिनासम्म चल्नेछ । रमदानमा मुसलमान धर्मावलम्बीहरू उपवास बस्छन् जसलाई ‘रोजा’ भनिन्छ ।
इस्लाम धर्मका पाँच आधार स्तम्भ इमान, नमाज, रोजा, जकात, हजमध्ये रोजा एक हो । इस्लामिक महिना शाअबान समाप्त भई रमजानको पहिलो चन्द्रमा देखेपछि रमजान सुरु हुन्छ । सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अफतारी गरी रोजा खोल्नुपर्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रोजा बस्नेहरूले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँच पटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रोजासँगै दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको मुख्य विशेषता रहेको छ।
कतारको इस्लामिक मामिला मन्त्रालयका अनुसार आज अर्ध चन्द्रमा देखिएका कारण भोलि बाट रमादान सुरु हुने बताएको छ । ‘सरिया कानुन’ ले बर्तको समयमा सार्वजनिक स्थानमा खाने, चपाउने, पिउने र धूम्रपान गर्न प्रतिबन्ध गरेको छ । खुला स्थानमा रोजाको समयमा यस्ता कार्य गरेमा ३ महिना जेल सजाय वा ३ हजार कतारी रियाल जरिवाना हुनसक्छ । कतारमा रमदान भरी निजी क्षेत्रले श्रमिकलाई दैनिक ६ घण्टा भन्दा बढा काममा लगाउन पाइँदैन भने सरकारी कार्यालय बिहान ९ बजेबाट दिउसो १ बजे सम्म मात्र खुल्नेछन् । सरकारी कार्यालय हप्ताको ५ दिन र निजी क्षेत्रले ६ दिन सञ्चालन हुनेछन् ।
अत्यन्त पवित्र आशीर्वाद एवं सौभाग्यले भरिपूर्ण यस पर्वमा इस्लामहरूले अल्लाहप्रति प्रेम एवं समर्पण दर्साउनुका साथै आफूले आफैंलाई अल्लाहले देखाएको बाटोमा कत्तिको दृढतापूर्वक लाग्न सकिएको छ भनेर जाँच्ने अवसर पनि हो । यस कारण रमजानमा अनिवार्य मानिएको रोजा राखेर दिनभरि भोकै-प्यासै रही अल्लाहलाई याद गरी धार्मिक नियमअनुसार चल्नाले स्वयं अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ ।
अरबी हिजरी पात्रोअनुसार हिजरी सम्वतको रमजान नवौं महिना हो । रमजानमा तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रूपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।
अन्तत: रोजा एउटा मौन क्रान्ति हो—जहाँ भोकले मानिसलाई मानव बनाउँछ, आँसुले समाजलाई पवित्र बनाउँछ, र इशभय, संयमता (तकवा) ले संसारलाई सुन्दर र उज्ज्वल बनाउँछ।