
काठमाडौँ : नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तयार पारेको चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्दैछ । कांग्रेसले मधेशकेन्द्रित औपचारिक शक्ति प्रदर्शनसहित चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।
जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । उनका अनुसार मधेशका आठवटै जिल्लामा नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरिएको छ । कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रमको व्यवस्थापन मिलाइएको छ ।
‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् । सोही क्रममा उनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नेछन् । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।