
काठमाडौं : नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन क्षेत्रको लिट्मस इन्डस्ट्रिज लिमिटेडले भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार परियोजना स्वीकृति प्राप्त गरेको छ । कम्पनीले पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिको महत्वपूर्ण स्वीकृति प्राप्त गरेको हो ।
पीजीसीआईएल भारतको केन्द्रीय अन्तरराज्यीय तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्ने निकाय हो । सो स्वीकृतिसँगै लिट्मस सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एकमात्र नेपाली उत्पादक बनेको कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार कम्पनीले ४ सय केभी एसीएसआर मूस कन्डक्टर २ हजार ७९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ । उक्त कन्डक्टरहरू डिडिङ–ढल्केबर–बथनाहा सीमापार प्रसारण लाइनमा प्रयोग हुनेछन्, जुन ९ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ ।
नेपालमै पहिलोपटक ४ सय केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको कम्पनीले उल्लेख गरेको छ । परियोजना स्वीकृति पूर्व पीजीसीआईएलले कम्पनीको उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण संयन्त्र तथा पूर्वाधारको गहन मूल्यांकन गरेको थियो ।