नेपालमा संसदीय अभ्यासका अनेक समस्या देखिएको छ । तर पनि संसदीय व्यवस्था नै प्रयोगमा छ । राजाबाट दुई पटक संसदीय व्यवस्था खोसियो, तर दुई पटक नै पुनस्र्थापना भयो । ००७ सालमा राणा शासन अन्त्य गरेपछि संवैधानिक राजतन्त्र सहित संसदीय प्रणाली स्थापना भएको थियो । तर २०१७ सालमा राजा महेन्द्रले निर्ददलीय पञ्चायती व्यवस्था शुरु गरे । २०१५ सालमा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला अपदस्थ भए, जेल चलान गरियो । तर पञ्चायत ३० वर्ष पनि टिक्न सकेन । २०४६ सालमा संयुक्त जनआन्दोलनको बलमा पञ्चायतको अन्त्य गर्दै बहुदलीय संसदीय अभ्यास शुरु भयो । फेरि २०५९ मा राजदरबार हत्याकाण्ड पछि राजा भएका ज्ञानेन्द्र शाहले संसदीय अभ्यास अन्त्य गरिदिए ।
०६२/०६३ को दोस्रो जनआन्दोलनले राजतन्त्रलाई नै अन्त्य गरिदियो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भयो । २०५२ सालमा नेकपा माओवादीले संसदीय अभ्यासविरुद्ध सशस्त्र विद्रोह थाले । १० वर्षपछि माओवादी पनि संसदीय अभ्यासमा आए । २०७२ को संविधानले ६३ सालकै जनविद्रोहबाट स्थापित उपलब्धी संस्थागत गरेको छ । तर फेरि पनि संसदीय अभ्यास राम्रोसँग हुन सकेको छैन । राजनीतिक चतारचढाब बढ्दै जाँदा २३ भदौ २०७७ देखि प्रमुख विपक्षी दल नेकपा एमालेले ९ महिना लामो संसद अवरोध गर्यो । आफ्ना राजनीतिक मागसहित ९ महिना संसद अवरोध गरेको एमालेले मंगलवारबाट संसद चल्न दिने निर्णय गरेको छ ।
९ महिना लामो कीर्तिमानी संसद अवरोधबाट एमालेले कस्तो राजनीतिक लाभहानी बेहो¥यो भन्ने अलग्गै विषय हो । त्यसको हिसाब राष्ट्रिय राजनीतिमा एमालेले बुझाउला वा नबुझाउला भन्ने पनि अलग कुरा भयो । तर संसदीय व्यवस्थाप्रतिको आकर्षण भने यस्ता प्रवृत्तिले बढाउँदैन, घटाउँछ । संसदीय व्यवस्थाप्रति आकर्षण घट्दा एमालेले कस्तो लाभ पाउछ भन्ने पनि उसैले भन्लान् । किनकि दलहरु जनता, मुलुक र संविधानप्रति जवाफदेही हुनैपर्नेछ । तर मुलुकको लोकतान्त्रिक अभ्यासमा भने संसदीय समस्या हल हुन नसकेकै निष्कर्ष निस्कन्छ । ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा दलीय उम्मेद्वारलाई स्वतन्त्र उम्मेद्वारहरुले दिएको चुनौतीले पनि संसदीय अभ्यास प्रभावकारी नहुँदा दल र तिनका नेताहरुलाई हेर्ने जनमत प्रकट हुन्छ । यसतर्फ मुलुकप्रति जिम्मेवार दलहरुले सोच्न ढिलाइ गर्न हुन्न । एमालेले ढिलै भएपनि पछि हट्ने निर्णय गरेको छ, यसबाट आगामी दिनमा पनि शिक्षा लिन जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies