२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बदलिएको कांग्रेस : शैली नयाँ, एजेन्डा पुरानै

shivam cement
दिवाकर अधिकारी
२०८२ फागुन ७ गते ०६:३५
Shares
बदलिएको कांग्रेस : शैली नयाँ, एजेन्डा पुरानै

काठमाडौं : नेपाली कांग्रेसले प्रतिज्ञापत्रका १० वटा बुँँदा सार्वजनिक गरेको छ । चुनावी घोषणापत्रलाई कांग्रेसले प्रतिज्ञापत्र नाम दिएको हो । 

लम्बेतान चुनावी घोषणापत्र ल्याउने र लामा÷लामा भाषण गर्ने शैलीमा नेपाली कांग्रेसले केही फेरबदल गर्न खोजेको छ । तर चुनावी एजेन्डाका बुँदाहरू भने पुरानै प्रवृत्तिका देखिन्छन् ।

बुधबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा रहेका १० बुँदा कसरी कार्यान्वयन हुने आधारबारे व्याख्या गर्न नै बाँकी छ । प्रतिबद्धताका बुँदाहरूमा भने विगतमा जस्तै विकास र समृद्धिको सपना देखाइएको छ । 

सम्मानित नेपाली भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल बनाउने भनिएको छ । यस्ता प्रतिबद्धता कांग्रेस र अन्य दलले समेत विगतदेखि नै गर्दै आएका छन् । 

कांग्रेसको प्रतिज्ञापत्रमा ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल, समुन्नतिमा लम्कने नेपाल बनाउने विषय पनि छ । 

यी सपना पूरा गर्ने आधार जनताले खोजिरहेका छन् । यसबारे विस्तृत बिहीबार सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसका सभापति गगन थापाले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्दैछन् । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिज्ञापत्रका बारेमा  देशविदेशबाट प्रश्न लिँदै सभापति थापाबाटै जवाफ दिने कार्यक्रम तय भएको जानकारी दिएका छन् । यसका लागि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ कार्यक्रम राखिएको छ । 

चालिसेका अनुसार सभागृहमा ठुलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराइनेछ । प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गरिएको छ । 

अर्थात्, सभापति थापाले चुनावी प्रतिबद्धता जनाउने तरिकामा केही नयाँपन अपनाउन खोजेका छन् । पुराना नेता र उनीहरूका शैलीमाथि प्रश्न उठाउँदै पार्टी नेतृत्वमा पुगेका नेता हुन् । विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापा ‘कांग्रेस बदल्यौं, अब देश बदल्छौं’ नारा दिँदै चुनावी प्रचारमा रहेका छन् । 

बुधबार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भने उनी नयाँ र पुराना दुवैको नेतृत्व गर्न सक्ने व्यक्तिका रुपमा आफूलाई देखाउने प्रयास गरे । यसका लागि संयमित देखिन खोजे । नेपाललाई सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको भन्दै उनले भनेका छन्, ‘नेपालको अबको पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०÷१२ वर्ष जसरी विकास हुनुपथ्र्यो, त्यो हुन सकेन ।’

ताजा खबर

सम्बन्धित खबर