
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य गरेका छन्। उनले प्रदेश उपसभापतिको जिम्मेवारीसँगै साधारण सदस्यताबाट पनि अलग भएको जानकारी दिएका हुन् ।
पार्टीको प्रदेश संरचना विस्तार र संगठन सुदृढीकरणमा, विशेष गरी काभ्रे क्षेत्रमा, आफ्नो सक्रिय भूमिका रहेको उल्लेख गर्दै उनले पछिल्लो समय संगठनभित्र देखिएका प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।
उनले दिएको राजीनामा पत्रमा संगठनात्मक प्रक्रियामा असन्तुलन, आन्तरिक लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको अनुभूति, वित्तीय पारदर्शितासम्बन्धी प्रश्न तथा नेतृत्व तहमा मूल्य-मान्यतासँग असंगत व्यवहार देखिएको भन्दै पार्टी परित्यागको निर्णय लिएको उल्लेख गरिएको छ ।
दीर्घकालदेखि योगदान दिएका कार्यकर्ताको भूमिकालाई पर्याप्त प्राथमिकता नदिई अन्य राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई अवसर दिने प्रवृत्ति बढेको उनको भनाइ छ । उम्मेदवार छनोट तथा जिम्मेवारी वितरणमा योग्यता र संस्थागत मापदण्डभन्दा व्यक्तिगत प्रभावलाई प्राथमिकता दिइएको आरोप पनि उनले लगाएका छन् ।
संगठन विस्तारका क्रममा विभिन्न तहका समिति गठन भए पनि तिनको प्रक्रिया, आधार र औचित्य स्पष्ट नभएको भन्दै उनले निर्णय प्रणाली क्रमशः व्यक्ति केन्द्रित हुँदै गएको टिप्पणी गरेका छन् ।