
सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीका सपना बोकेर संसद्मा जाने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको गरिबी धेरै नेताले देखे पनि त्यसलाई बुझेर समाधान खोज्ने प्रयास नभएको टिप्पणी गरे ।
सम्बोधनका क्रममा बालेनले कर्णालीको भौगोलिक, प्राकृतिक र सांस्कृतिक विशेषताको प्रशंसा गर्दै यस क्षेत्रको सम्भावना सदुपयोग हुन नसकेको बताए । उनले राजा महेन्द्रलाई स्मरण गर्दै रारा ताल लाई ‘स्वर्गकी अप्सरा भएको ठाउँ’ भने ।
उनका अनुसार देशकै सबैभन्दा लामो नदी, सबैभन्दा ठुलो जिल्ला, ठुलो गाउँपालिका र गहिरो ताल भएको कर्णालीको ‘गहिराइ’ कुनै सरकारले नबुझेको दाबी गरे । “त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो,” उनले भने ।
बालेनले कर्णालीको उत्पादन देशव्यापी बजारमा पुर्याउन नसकिएको भन्दै असन्तोष व्यक्त गरे । “डोल्पाको यार्सागुम्बा विश्वभर पुग्छ, तर कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापासम्म पुग्दैन,” उनले भने, “यहाँको कृषि र उत्पादनलाई देशभर विस्तार गर्ने पार्टी बन्न चाहन्छ रास्वपा ।”
सिंजा उपत्यका लाई नेपाली तथा खस भाषाको उद्गमस्थलका रूपमा उल्लेख गर्दै उनले कर्णालीको भाषा, लिपि, कला, नाचगान र जात्रालाई संरक्षण गर्ने प्रतिबद्धता जनाए ।
उनले काठमाडौं महानगरपालिका मा नेवा सभ्यताका मूर्त तथा अमूर्त सम्पदा जोगाउने अभ्यास उदाहरणका रूपमा प्रस्तुत गर्दै कर्णालीमा पनि त्यही मोडेल लागू गर्ने बताए ।
देशमा अझै भोकमरी र बालमृत्युदर तथा मातृमृत्युदर उच्च रहेको उल्लेख गर्दै बालेनले यसको सबैभन्दा बढी मार कर्णालीले खेपिरहेको बताए । “कर्णालीको पीडा बेच्ने नेता धेरै आए, तर गरिबी बुझ्ने नेता आएका छैनन्,” उनले भने ।
पर्यटन, कृषि, आयआर्जन र पूर्वाधार विकासमार्फत कर्णालीको समग्र अवस्था सुधार्ने लक्ष्यसहित आफूहरू अघि बढेको उनको भनाइ थियो ।
सम्बोधनको अन्त्यमा उनले कर्णालीका नागरिकको सपना आफ्नो पार्टीको वाचापत्र बनेको उल्लेख गर्दै ती सपना पूरा गर्न साथ र समर्थन मागे ।