
काठमाडौं : पछिल्लो दुई दिनयता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ । मधेशकी संस्थापक सभापति ममता शर्मा र बागमती प्रदेशका उपसभापतिसहित तीन प्रभावशाली नेताले पार्टी परित्याग गरेपछि संगठनभित्र उम्मेदवार छनोट र नेतृत्व शैलीबारे गम्भीर प्रश्न उठेको छ ।
२०७९ सालमा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बागमती प्रदेश उपसभापति दिनेश गौतमले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत भएको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
उनले लामो समयदेखि पार्टीमा सक्रिय कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट हालसालै प्रवेश गरेका व्यक्तिलाई प्राथमिकता दिइएको दाबी गरेका छन् । “जान्नेलाई छान्ने” मूल नारा व्यवहारमा कार्यान्वयन नभएको भन्दै उनले सीमित व्यक्तिको प्रभाव र चाकडी संस्कृतिले प्राथमिकता पाएको आरोप लगाए ।
गौतम २०७९ को निर्वाचनमा काभ्रे–२ बाट १० हजार ५७३ मत ल्याएका थिए । यसपटक उक्त क्षेत्रबाट रास्वपाले नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।
यसअघि मधेशकी संस्थापक सभापति ममता शर्माले बुधबार पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।
जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेकी हुन् । कार्यक्रममा सभापति गगन थापाले उनलाई स्वागत गरेका थिए ।
शर्माले रास्वपामा विधि–प्रक्रिया कमजोर बनेको र योगदानको कदर नभएको आरोप लगाएकी छन् । टिकट वितरणमा ‘दाग लागेका व्यक्तिहरू’ हाबी भएको उल्लेख गर्दै उनले पार्टी छाड्ने निर्णय लिएको बताइन् ।
यसैबीच, रास्वपा नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनकी उम्मेदवार रहेकी उनले पार्टी स्थापना कालका मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताविपरीत गतिविधि बढ्दै गएको आरोप लगाएकी छन् ।
उनका अनुसार युवा पुस्तालाई अवसर दिने र सक्षम व्यक्तिलाई अघि सार्ने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । पार्टीभित्र चाप्लुसी र आर्थिक प्रभाव हाबी भएको उनको भनाइ छ ।
राजीनामा दिएका नेताहरूले केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा प्रश्न, विधान उल्लंघन, प्रदेश तथा तल्लो तहको आवाज बेवास्ता र शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न उठाएका छन् ।
लगातार तीन नेताको बहिर्गमनले आसन्न निर्वाचनको मुखैमा रास्वपाभित्र आन्तरिक व्यवस्थापन र नेतृत्व शैलीबारे बहस तीव्र बनेको छ ।