
काठमाडौं : रामवीर मानन्धर सहित विभिन्न दल परित्याग गरेका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित ‘प्रतिज्ञापत्र’ सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रमपछि उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो ।
कार्यक्रममा कांग्रेस सभापति गगन थापाले मानन्धरसहितका नेताहरूलाई सदस्यता प्रदान गर्दै पार्टीमा भित्र्याएका थिए ।
पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि २०४९ सालमा काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्ष बनेका थिए भने काठमाडौं–७ बाट तीन पटक सांसद निर्वाचित भएका थिए । लामो समय नेकपा (एमाले) मा सक्रिय रहेका मानन्धर पछिल्लो समय निष्क्रिय देखिएका थिए ।
यसै अवसरमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवाका एमाले नेता तथा पूर्वअध्यक्ष जनार्दन ढकाल, र काठमाडौं–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
जनार्दन ढकाल संविधानसभा सदस्यसमेत रहेका नेता हुन् । उनीसँगै रसुवाबाट आएका स्थानीय नेता–कार्यकर्ता गरी सय जना बढीलाई एकैपटक कांग्रेसमा समावेश गरिएको जनाइएको छ ।
डा. राणा भने २०७९ सालमा कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । सोही वर्ष उनी काठमाडौं–५ बाट उम्मेदवार बनेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई वैकल्पिक शक्ति बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।