स्थानीय चुनावको अन्तिम नतिजा आउन बाँकी भएपनि यसले दिनुपर्ने सन्देश दिइसकेको छ । राष्ट्रिय राजनीतिमा राजनीतिक दलहरुको हैसियत लगभग प्रष्ट भइसकेको छ । पाँच वर्ष अगाडि मुलुकको पहिलो शक्ति बनेको नेकपा एमाले दोस्रोमा खुम्चिएको छ । एमालेको ठाउँमा नेपाली कांग्रेस उक्लिएको छ । नेकपा माओवादी केन्द्र आफ्नै ठाउँ तेस्रोमा सुरक्षित भएको छ । त्यसपछि जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी क्रमशः राजनीतिक हैसियतको शक्ति बनेको छ । माओवादीलाई उछिन्ने अवस्था नरहेपनि चौथो देखि मुनिका राजनीतिक शक्तिहरुबीच प्रतिश्पर्धा हुने अझै प्राविधिक सम्भावना छ । तर सामान्यतयाः अब राजनीतिक दलहरुको हैसियत प्रष्ट भइसकेको छ ।
दलको हैसियतसँगै निर्वाचित जनप्रतिनिधिबारे पनि अनेक सन्देश आइसकेको छ । राजधानी शहर काठमाडौं महानगर सहित १५ भन्दा बढी स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारले राजनीतिक दलका उम्मेद्वारलाई पछि पारेका छन् । ८ स्थानीय तहको नेतृत्व स्वतन्त्र उम्मेद्वारी दिएका व्यक्तिले लिइसकेका छन् । काठमाडौंमा बालेन्द्र साह, धरान उपमहानगर पालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगर पालिकामा गोपाल हमाल, जनकपुर उपमहानगर पालिकामा मनोज साह लगायतले अग्रता लिइरहेका छन् । स्वतन्त्र उम्मेद्वारले पाएको मतले राष्ट्रिय राजनीति तरंगित भएको त छ नै, प्रमुख राजनीतिक दलहरुकै उम्मेद्वारबीच मात्रै प्रतिश्पर्धा हुने मान्यता समेत तोडिएको छ । यसले दलहरुलाई उम्मेद्वार चयनमा विषेश ध्यान दिनुपर्ने सन्देश दिएको छ ।
अर्को महत्वपूर्ण सन्देश भनेको जनप्रतिनिधिहरुकै निम्ति पनि यसपटक मतदाताले दिका छन् । किनकि ०७४ को चुनाव नयाँ संविधान बनेपछि पहिलो पटक भएको थियो । त्यसअघि २० वर्षसम्म चुनाव नभएको र ०५४ को स्थानीय चुनाव पनि पुरानै संरचनामा भएको थियो । तर यसपटक प्रतिनिधिहरुकै पनि मतदाताले परीक्षा लिए । दलहरुले आधा जति जनप्रतिनिधिलाई फेरि उम्मेद्वार बनाएका थिए भने अघिल्लो पटक पराजित उम्मेद्वार पनि प्राथमिकतामा परेका थिए । तर तिनै जनप्रतिनिधिले मात्रै जिते, जसले जनताको मन जित्न सकेका थिए । होइन भने जनप्रतिनिधिहरु यसपटक पराजित भएको कयौं उदाहरण छन् । नवनिर्वाचित जनप्रतिनिधिले यसतर्फ ध्यान दिन जरुरी छ । मतदाता सचेत छन् र उनीहरुले अब झुटो कुरा मान्नेवाला छैन भन्ने पनि पुष्टि भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies