
काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन् । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिएका हुन् ।
अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता नदेखिएको स्पष्ट पारे । यद्यपि, पछिल्लो समय केही प्रगति भएको उनको भनाइ छ । सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको बताए ।
उनले केही दिन अघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिए । अध्यक्ष दाहालकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्नेछ । निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उनको भनाइ छ ।