
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिहीबार सुर्खेतबाट चुनावी बाचा सार्वजनिक गरेर दाङ तुल्सीपुर आउँदा समर्थकहरु कुरिरहेका थिए । स्थानीय विरेन्द्र चोकमा रास्वपा समर्थकले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध नाराबाजी मात्र गरेनन्, एमालेको चुनावचिन्ह सूर्य अंकित झण्डा जलाइदिए ।
यो घटना यतिमै रोकिएन् । एमालेले झण्डा जलाइएको विवादलाई देशव्यापी बनाएको छ । भ्रातृ संगठनहरुले काठमाडौं र पोखरामा राँके जुलुस निकालेका छन् भने मकवानपुरमा बिरोध प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार चुनावी सभा सम्बोधन गर्न पुगेका रास्वपा सभापति लामिछानेलाई कालो झण्डा देखाउनुका साथै रास्वपा उम्मेदवारको सम्र्पक कार्यालयमा तोडफोडसमेत गरे । त्यस क्रममा तनाबको स्थितिसमेत बनेको थियो ।
एमालेसँग मात्र होइन्, कांग्रेस र राप्रपासँग समेत रास्वपाको तनाब बढेको छ । मधेसमा बिजुलीका पोलमा रहेका कांग्रेसका झण्डा झिकेर बालबालिकालाई पिसाब गर्न लगाएर विवाद बढाउन खोजिएको छ भने बिहीबार तुल्सीपुरमै राजा विरेन्द्रको सालिकमाथि चढेर झण्डा प्रदर्शन गरेको घटनाप्रति राप्रपाले आपत्ति जनाएको छ । अछाममा नेकपा र रास्वपाबीच तनाब छ ।
प्रतिनिधिसभा सदस्य चुनाव आउन १० दिन बाँकी छँदा रास्वपा र अन्य दलबीच एकपछि अर्को विवाद निस्केका छन् । यी सानातिना घटना तत्कालै नरोकिएर तनाब बढ्दैजाँदा चुनावको वातावरण नै बिथोलिने चिन्ता सुरक्षा निकायले गर्न थालेका छन् ।
तुलसीपुरको घटनालाई एमालेले गम्भीरताका साथ लिँदै दोषीमाथि कारबाही नभए प्रतिवादमा उत्रिने चेतावनी दिइसकेको छ । प्रतिक्रिया स्वरुप शुक्रबारै काठमाडौंमा अनेरास्ववियुले रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला जलाएको छ भने दाङको घोराहीमा रहेको रास्वपाको पार्टी कार्यालय तोडफोड गरेको छ । यो घटनालाई एमालेले देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाएको आरोप लगाएको छ । रास्वपाको गतिविधिलाई अराजकता र उद्दण्डताको संज्ञा दिदै एमालेले भनेको छ, ‘अनुशासित पार्टी भएकाले यो घटनाबाट उत्तेजित भएको छैन । यद्यपि हाम्रो संयमता, धैर्य हामी कमजोर भएर होइन ।’
महासचिव शंखर पोखरेलले पार्टीको झण्डा जलाउने काम नयाँ नभएर अपराधीक भएको आरोप लगाए । उनले भने, ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पु¥याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’ एमालेका देशभरका कार्यकर्ताहरू आन्दोलनको मुडमा देखिएका छन् ।
यस्तै, रास्वपाकै कार्यकर्ताले तुलसीपुर राजा वीरेन्द्रको सालिकमा चढेर प्रदर्शन गरेको भन्दै राप्रपाले आपत्ति जनाएको छ । राजा वीरेन्द्रको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति राप्रपा लुम्बिनी प्रदेशका सचिव राजेन्द्र अधिकारीले विज्ञप्तिमार्फत अराजकतापूर्ण व्यवहार सह्य नहुने भन्दै चेतावनीसमेत दिइएको छ । मधेश प्रदेशमा कांग्रेसको झण्डा निकालेर बालबालिकालाई पिसाव गराएको घटनामा भने कांग्रेसले आधिकारीक धारणा सार्वजनिक गरेको छैन् ।
२१ फागुनको चुनाव नजिकिँदै जाँदा दलहरूबीच बढ्दै गएका यस्ता तिक्तताले चुनाव बिथोलिन सक्ने खतरा बढाएको छ । यी घटनाका सन्दर्भमा निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाए पनि कुनै कारबाही प्रकृया अघि बढाएको छैन् । रास्वपाले भने एमालेको भण्डा जलाउने पार्टीको कुनै नीति नभएको बताएको छ । आफूहरू संयम भएर चुनावी प्रचारमा लागेको भन्दै रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भनिन्, ‘हामी कुनै दलको झण्डा वा व्यानर च्यात्ने, डढाउनेखेलमा छौनौं । यो विषयमा आम्रोपनि ध्यानाकर्षण भएको छ ।’ यही घटनालाई लिएर रास्वपाले पाखरा र बुटवलका चुनावीसभा नै स्थगन गरेको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता रावलले बताइन्।उनले भनिन्, ‘समय व्यवस्थापन र पार्टीको आन्तरिक महत्त्वपूर्ण काम गर्नुपर्ने भएकाले हामीले चुनावी सभा स्थगित गरेका हौँ। दाङको घटनालाई लिएर होइन। चाँडै अर्को मिति सार्वजनिक गर्छौँ ।’
राजनीतिमा नयाँ भनिएका शक्ति र पूरानाबीचको तीब्र प्रतिष्पर्धा हुँदै गर्दा आपसी तिक्तता समेत चुलिने क्रममा छ । परम्परागत दलप्रति नागरिकको वितृष्णा बढ्दा निर्वाचनको माहोलसमेत आक्रामक ढंगले अघि बढेको देखिन्छ । निर्वाचनले मुलुकको समस्या समाधानको बाटो तय गर्ने भएकाले जुनसुकै बहानामा पनि निर्वाचनलाई भाड्ने काम गर्न नहुने राजनीतिक विश्लेषक सुरेन्द्र केसीले बताए । उनले मध्यान्हसँग भने, ‘जेनजी आन्दोलनपछि हुन लागेको यो निर्वाचनले मुलुकलाई निकास दिने आम अपेक्षा छ । तर, कतिपय शक्तिहरू अझै निर्वाचन नहोस् भन्ने तहमा पनि होलान् । तर, त्यसले समस्या समाधान गर्दैन् । थप समस्या सृजना गर्दछ ।’ लोकतन्त्रमा स्वच्छ र निष्पक्ष निर्वाचन मार्फत शासन सत्तमा पुग्ने अभ्यलाई जोसुकै राजनीतिक शक्ति वा व्यक्तिहरूले भाड्नेगरी प्रस्तु हुनु अलोकतान्त्रिक चरित्र भएकाले यसबाट जिम्मेवार राजनीति दल सचेत हुनुपर्ने उनको सुझाव छ ।
पछिल्लो पटकका केही घटनाको जगमा चुनाव गर्न नचाहेका शक्तिहरू समेत सल्बलाउनसक्ने सुरक्षा निकायको आंकलन छ । प्रतिष्पर्धी राजनीतिक दलबीचको द्वन्द्वलाई मसला बनाएर आफ्नो स्वार्थ पूरा गर्ने योजनामा लाग्नसक्ने जोखिम देखिन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन अहिलेकै स्थितिमा चुनावमा जानु उचित नहुने भन्दै निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति खोज्न आग्रह गरेका थिए । राप्रपाले त्यसैमा टेकेर चुनावअघि नै राष्ट्रिय समझदारी खोज्नुपर्ने निश्कर्ष निकालेको छ । यद्यपि, चुनावी मैदानमै रहेको राप्रपाको यो अभिव्यक्तिलाई राजनीतिक बृत्तमा दोहोरो चरित्रकोरूपमा हेरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले यस पटक एक थोपा पनि रगत नबगाई प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने उद्घोष गरेकी छिन् । जेजनी आन्दोलनको बलमा भदौ २८ गते प्रधानमन्त्री बनेकी कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई सत्ताको साँचो बुझाउने जिम्मेवारी छ । सोही अनुसार सरकारले चुनावको अन्तिम तयारी गरिसकेको छ । फागुन २१ मा हुने निर्वाचनका लागी निर्वाचन आयोगले निर्वाचन सामग्रीहरू जिल्ला जिल्लामा पठाइसकेको छ । अब केवल मतदान केन्द्रभित्रको व्यवस्थापन मात्रै बाँकी छ । ‘आयोगले गर्नुपर्ने निर्वाचनका सबै तयारीहरू पूरा गर्दै निर्वाचन सामग्रसमेत जिल्ला जिल्लामा पठाइ सकिएको छ’, आयोगका सहायक प्रवबक्ता सीता पुन श्रीसले भनिन् ।
चुनावमा भाग लिएका राजनीतिक दलहरूले आफ्नो चुनावी प्रचारका कार्यक्रमलाई सशक्त बनाउँदै लगेका छन् । यही क्रममा प्रतिष्पर्धि दल तथा उम्मेदवारप्रति छेडखानी गरिरहेका छन् । राजनीतिक दल, उम्मेदवार, तिनका कार्यकर्ता र समर्थकबाट अबाञ्छीत गतिविधि बढ्ने क्रममा छन् । निर्वाचनको पूर्वसन्ध्यामा राजनीति दल र कार्यकर्ताबीच आरोप प्रत्यारोप, मतभिन्नतासहित छिटपुट घटनाहरू हुनुलाई चुनावको समयमा सामान्य नै मानिन्छ । यद्यपि उम्मेदवार र दलका जिम्मेवार व्यक्तिहरूबाटै हुने यस्ता घटनाले भने आपसी द्वन्द्व निम्त्याउन सक्ने शंंसय उत्पन्न भएको छ ।