
काठमाडौं : नेपालमा उद्यमशीलताको विकास तथा युवामा आत्मनिर्भर बन्ने प्रेरणा दिन ‘वैभव उद्यमी सम्मान’ कार्यक्रम आयोजना हुने भएको छ । एरोनेप कन्सल्टींग सर्भिसेजको आयोजनामा हुने कार्यक्रम आइतबार हुन लागेको हो ।
नेपालमा बढ्दो बेरोजगारी, विदेश पलायन र अवसरको सीमितताबीच आफ्नै देशमा उद्यम स्थापना गरी रोजगारी सिर्जना गर्ने तथा आर्थिक विकासमा योगदान पु¥याउने उद्यमीलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममार्फत व्यक्तिगत सफलताभन्दा पनि नेपालभित्र उद्यमशीलताको वातावरण निर्माण गर्दै युवामा आशा र सम्भावनाको सन्देश फैलाउने लक्ष्य राखिएको छ । सम्मान कार्यक्रम अन्तर्गत उद्यमीहरूको प्रेरणादायी यात्रालाई राष्ट्रिय स्तरमा प्रस्तुत गरिनेछ ।
यस वर्ष सम्मान दुई विधामा प्रदान गरिनेछ । ‘उदीयमान सफल उद्यमी’विधा अन्तर्गत व्यवसायिक रूपमा उल्लेखनीय सफलतातर्फ उदाइरहेका सकारात्मक प्रभाव सिर्जना गरेका एक जना अनुभवी युवा उद्यमीलाई सम्मान गरिनेछ । दोस्रो, ‘राइजिङ उद्यमी’ विधा अन्तर्गत नवप्रवर्तन, सम्भावना र तीव्र प्रगतिका आधारमा नयाँ पुस्ताका एक जना उद्यमीलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
सम्मानका लागि स्व–नामांकन तथा सार्वजनिक सिफारिसमार्फत आवेदन संकलन गरिने र प्राप्त आवेदन पारदर्शी तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गरिने बताइएको छ ।
निर्णायक मण्डलले नेतृत्व क्षमता, नवप्रवर्तन, सामाजिक तथा आर्थिक प्रभाव, नैतिकता र राष्ट्रप्रतिको प्रतिबद्धताको आधारमा विजेता छनोट गर्नेछन् ।
कार्यक्रममा सम्मानित उद्यमीहरूको जीवनयात्रा समेटिएको भिडियो प्रस्तुति, प्रमुख अतिथिको सम्बोधन, उद्यमी, लगानीकर्ता, सञ्चारकर्मी तथा सरोकारवालाबीच अन्तरक्रिया र नेटवर्किङ सत्र समेत रहनेछ । आयोजकले नेपालमा उद्यमशील संस्कृतिको विकास, सफल उद्यमीहरूको कथा प्रवर्धन तथा युवामा उद्यमशीलताको आकर्षण बढाउने अपेक्षा गरेको छ । साथै कार्यक्रमका लागि विभिन्न संस्था, व्यवसायी, विकास साझेदार तथा व्यक्तिलाई साझेदारी र सहकार्यका लागि आह्वान गरिएको छ ।