
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनहरुले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरुलाई आग्रह गरेका हुन् ।
वागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गरेका दिनेश हुमागाईंले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गरे । उनले चुपचाप नभइ धेरै अध्ययन गरेर मत हाल्न पनि आग्रह गरे । देशले निकास पाउने र स्थायी सरकार बन्नेगरी मत दिनुपर्नेमा जोड दिँदै उनले रास्वपा आफ्नो सिद्धान्तबाट विचलन भएको आरोप लगाए ।
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए । उनले थितिको थालनी र वेथितिको अन्त्य भन्ने नाराका साथ स्थापना भएको पार्टी हाल उल्टो बाटोतिर हिँडेको दाबी गरे । उनले उम्मेद्वारी चयन प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिएपनि त्यसो हुन नसकेको बताए ।
रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति समेत रहिसकेकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताइन् । बाहिर पारदर्शिताको कुरा गरिएपनि काम उल्टो देखिएको कारण दैनिक रूपमा पार्टी छाड्नेहरुको संख्या बढिरहेको उनको भनाइ छ । उनले जान्नेलाई छान्ने पार्टीको नारा ठिक उल्टो भएपछि आफूले पार्टी छाडेको बताइन् । उनले जनतालाई झुक्याउने काम मात्रै रास्वपाले गरिरहेको आरोप लगाइन् ।