
काठमाडौँ : राधा क्यान्सर सचेतना फाउन्डेसनले स्थापना गरेको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ यसबर्ष गोरखापत्रकर्मी सरोज ढुंगेललाई प्रदान गरिएको छ । नवलपुरको कावासोती नगरपालिका–२ मा शनिबार आयोजित विशेष कार्यक्रममा उनलाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्ग्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले पुरस्कार वितरण गर्दै पछिल्लो समय नेपाल मात्र नभई विश्वमै क्यान्सरजस्ता नसर्ने रोग भयावह बन्दै गएको बताए । उनले नसर्ने रोगका कारण मृत्यु दर बढ्दो क्रममा रहेको उल्लेख गर्दै दैनिक करिब १० जनाको मृत्यु हुने गरेको जानकारी दिए ।
समयमै पहिचान गरी उपचार गर्न सके क्यान्सर पूर्ण रूपमा निको हुन सक्ने भएकाले प्रारम्भिक जाँच र सचेतनामा जोड दिनुपर्ने उनको भनाई थियो ।
पुरस्कार ग्रहण गर्दै पत्रकार ढुंगेलले उक्त सम्मानले स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सरजस्ता नसर्ने रोगका विषयमा कलम चलाउन थप प्रेरणा मिलेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश बस्यालले महिलाहिंसा न्युनीकरणकालागी सबैभन्दा पहिले समाजकाे साेच परिवर्तन गर्नुपर्नेमा जाेड दिए । उनले हरेक घरमा छाेरीहरूलाई खुलेर बाेल्न सक्ने वातावरण बनाउनुपर्ने बताए । समाजकाे डरले हिंसा लुकाउने प्रवत्ति रहेकाले छाेरीहरूलाई सक्षम बनाउनुपर्ने उनकाे भनाई छ ।
बस्यालले क्यान्सरको जोखिम बढ्दै गएकाले यसका विषयमा सचेतना आवश्यक रहेको बताए । क्यान्सरकाे उपचार भन्दा राेग लाग्नै नदिनेगरी सरकारले याेजना बनाउन सुझाव दिए । वि.सं. २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कात्तिक १४ गते स्तन क्यान्सरका कारण निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग संघर्ष गर्नुपरेको उहाँका बुबा शुभराज शर्मा बस्यालले बताए ।
आफूलाई क्यान्सर भएको थाहा पाएपछि राधाले महिला हिंसा र स्तन क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले राधा क्यान्सर सचेतना फाउन्डेसन स्थापना गरी गाउँ–गाउँमा तथा रेडियो मध्यविन्दु एफएममार्फत अभियान सञ्चालन गरेका थिए । उनको निधनपछि फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिँदै आएका छन् ।