
काठमाडौँ : अमेरिकी अन्तरिक्ष निकाय नासाले आगामी मार्चमा तय गरिएको मानवसहितको ‘आर्टिमिस-२’ चन्द्र अभियान हाललाई स्थगित गर्ने निर्णय गरेको छ। निकायका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक जटिलता देखिएपछि उडान तालिका पुनरावलोकन गरिएको जानकारी दिएका हुन् ।
यो अभियान पाँच दशकभन्दा बढी अन्तरालपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने पहिलो प्रयासका रूपमा हेरिएको थियो। परीक्षणका क्रममा फेब्रुअरी २१ मा रकेटको माथिल्लो खण्डमा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो । हिलियम ग्यास इन्धन ट्यांकीभित्रको चाप सन्तुलन कायम राख्न तथा इन्जिन प्रणाली सफा राख्न आवश्यक मानिन्छ ।
३२२ फिट अग्लो ‘स्पेस लन्च सिस्टम’ रकेट तथा ‘ओरियन’ अन्तरिक्षयानलाई प्रक्षेपण स्थलबाट हटाई ‘भेहिकल एसेम्बली बिल्डिङ’ मा फिर्ता लैजाने तयारी गरिएको छ। प्राविधिक सुधार कार्य प्रक्षेपण स्थलमै सम्भव नभएकाले संरक्षित ह्यांगरमा राखेर आवश्यक मर्मत गरिने जनाइएको छ ।
यसअघि मार्च ६ का लागि तोकिएको प्रक्षेपण कार्यक्रम रद्द गरिएको छ। पुनः प्रक्षेपणका लागि अप्रिल १ देखि ६ बीचको समयावधि सम्भावित विकल्पका रूपमा मुल्यांकन भइरहेको बताइएको छ ।
प्रशासक आइज्याकम्यानले समयतालिका परिवर्तनले कार्यदलमा निराशा उत्पन्न भए पनि उडान सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको स्पष्ट पारे ।
दश दिने उक्त अभियानमा अमेरिकी अन्तरिक्ष यात्रीहरू अमेरिकी रिड वाइजम्यान, भिक्टर ग्लोभर, र क्रिस्टिना कोच तथा एक क्यानेडियन यात्री जेरेमी ह्यान्सेन सहभागी हुनेछन् ।
अमेरिकाले विश्वव्यापी अन्तरिक्ष प्रतिस्पर्धाको परिवेशमा सन् २०३० अघि पुनः मानवलाई चन्द्रमाको सतहमा अवतरण गराउने दीर्घकालीन लक्ष्य अघि सारेको छ ।