२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पाँच दिनको प्रयासमा हटाइयो मनाङको नार्पाभूमि गाउँपालिकास्थित विभिन्न स्थानको हिउँ

shivam cement
२०८२ फागुन १० गते १७:४३
Shares
पाँच दिनको प्रयासमा हटाइयो मनाङको नार्पाभूमि गाउँपालिकास्थित विभिन्न स्थानको हिउँ

मनाङ : मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गतका विभिन्न बस्ती जोड्ने बाटोमा जमेको हिउँ पाँच दिनको निरन्तर प्रयासपछि हटाइएको छ । भारी हिमपातका कारण छ्याँसे, मेता र च्याखुँ क्षेत्रका पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएका थिए ।

हिउँले बाटो पुरिँदा स्थानीय बासिन्दा तथा सामान ढुवानीका लागि प्रयोग हुने खच्चड र पैदल यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको थियो । अत्यावश्यक सामग्री आपूर्तिमा समेत समस्या देखिएपछि सुरक्षा निकाय सक्रिय बनेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल को ३२ गुल्म मनाङबाट विपद् उद्धार सामग्रीसहित खटिएको टोलीले नेपाली सेना र नेपाल प्रहरी सँग समन्वय गरी संयुक्त रूपमा हिउँ पन्छाउने अभियान सञ्चालन गरेको थियो ।

फागुन ६ गतेदेखि सुरु गरिएको अभियान फागुन ११ गते सम्पन्न भएको हो । पाँच दिनसम्म निरन्तर खटिएर सुरक्षाकर्मीहरूले अवरुद्ध मार्ग खुलाएपछि स्थानीय आवतजावत तथा ढुवानी सेवा पुनः सुचारु भएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्दा यातायात र जनजीवन प्रभावित हुने भएकाले यस्ता अवस्थामा सुरक्षा निकायले संयुक्त रूपमा उद्धार तथा व्यवस्थापन कार्य अघि बढाउने गरिएको छ ।

सम्बन्धित खबर