२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

shivam cement
२०८२ फागुन १० गते २०:३९
Shares
भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ । आइतबार जारी विज्ञप्तिमार्फत आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै केही दल र उम्मेदवारले तोकिएको मापदण्डविपरीत भौतिक स्वरूपका चिह्न प्रयोग गरेकोप्रति ध्यानाकर्षण गराएको हो ।

आयोगका अनुसार प्रचारका क्रममा धातु, काठ वा यस्तै अन्य सामग्रीबाट निर्मित निर्वाचन चिह्न बोकी हिँड्ने र प्रदर्शन गर्ने कार्यले सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गुनासा प्राप्त भएका छन् । यस्ता गतिविधिले जनसमुदायको शान्ति तथा सुरक्षामा असर पुर्‍याउने जोखिम बढाउने आयोगको ठहर छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार निर्वाचन चिह्न प्रयोग गर्न सक्नेछन् । तर ठोस सामग्रीबाट बनेका भौतिक स्वरूपका चिह्न प्रयोग गरी प्रचारप्रसार गर्दा सुरक्षा चुनौती थपिन सक्ने भएकाले त्यस्तो कार्य नगर्न आयोगले स्पष्ट निर्देशन दिएको छ ।

आयोगले निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार दलको झण्डा र निर्वाचन चिह्नको माध्यमबाट मात्र प्रचारप्रसार गर्न अनुरोध गर्दै मापदण्डको पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई सचेत गराएको छ ।

सम्बन्धित खबर