स्थानीय चुनावको परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगिरहँदा राष्ट्रिय राजनीति तर्फको चासो कम हुँदै गएको छ । निर्वाचन प्रक्रिया शुरु भएको झण्डै डेढ महिना देखिको आमचासो चुनावी परिणामतर्फ गएको थियो । अन्तिम परिणाम आउन बाँकी रहेपनि राजनीतिक सन्देश प्रष्ट भइसकेको छ । त्यसकारण पनि मुलुकको ध्यान अन्यत्र मोडिएको छ । तर त्यो आमचासो भने दर्दनाक छ । एक किशोरीले सौन्दर्य प्रतियोगिताका क्रममा आयोजकले नै बलात्कार गरेको भिडियो सन्देश सार्वजनिक गरेकी छन् । आठ वर्ष अगाडि आफूमाथि बलात्कार भएको ती किशोरीको आरोप छ । उक्त भिडियोपछि सडकदेखि संसदसम्म न्यायको मागमा आवाज उठेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई छानविन गर्न निर्देशन दिएका थिए ।
लगत्तै सरकारले एसएसपीको नेतृत्वमा छानविन समिति बनाएको छ । भोलिपल्टै आरोपित पक्राउ परेका छन् । ती आरोपितलाई ६ महिनासम्म बलात्कारको आरोप लागेको छ । बलात्कारपछि ती किशोरीले डिप्रेसनमा गएको भिडियो सन्देशमा उल्लेख छ । लामो उपचारका क्रममा पनि ठीक नभएपछि भिडियो सन्देश सार्वजनिक गर्नुपरेको ती किशोरीले जनाएकी छन् । केही समय अगाडि पनि एक कलाकारमाथि यौन हिंसाको आरोप लागेको थियो । ती कलाकार अहिले थुनामा छन् भने उक्त मुद्दामाथि अन्तिम फैसला आउन बाँकी छ । ती कलाकारलाई पनि किशोरी बलात्कारकै मुद्दा लागेको छ । चलेका व्यक्तिहरुमाथि लागेको आरोप र किशोरीहरुको हिम्मतका कारणले यी घटना आमचासोको विषय बनेको छ ।
तर यस्ता कयौंन् घटना सार्वजनिक हुन नसकेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । सार्वजनिक भएका घटनामा पनि पीडितले न्याय पाएका छैनन् । निर्मला पन्त बलात्कार पछि हत्या प्रकरण त्यस्तै एक घटना हो । पाँच वर्ष पुग्दा पनि पन्त बलात्कार तथा हत्याका दोषी पहिचान हुन सकेको छैन । कमजोर पृष्ठभूमिका मात्रै नभएर सार्वजनिक क्षेत्रमै रहेकाहरुमा भएका यौन हिंसा सार्वजनिक भइरहेको छ । यसले हाम्रो छोरीहरु सुरक्षित हुन नसकेको तथ्य पुष्टि गर्छ । तर फेरि पनि हिंसाका घटना रोकिएका छैनन् । त्यसमा कानूनी कार्बाहीमाथि समेत प्रश्न उठ्ने गरेको छ । दोषीलाई सजिलै उन्मुक्ति दिइनेदेखि उल्टै बचाउने जस्ता घटनाले हिंसा थप प्रोत्साहित हुने स्वभाविक अनुमान लगाउन सकिन्छ । अतः छानविनमा निष्पक्षता र दोषीमाथि कानूनी कार्बाही आवश्यक छ । एउटा मात्रै दोषीले उन्मुक्ति पाउनु भनेको हिंसालाई प्रोत्साहित गर्नु पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies