
काठमाडौं : बौद्ध कुमारीगालस्थित अरुणिमा माध्यमिक विद्यालयले अभिभावक दिवसको अवसरमा समाजका विविध क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
विद्यालयले शिक्षाप्रेमी तथा समाजसेवी बुद्धिबहादुर थापा (अमिर थापा), शिक्षाविद् एवं नेपाल सरकारका पूर्व सहसचिव विश्वनाथ अर्याल तथा समाजसेवी ‘शताब्दी पुरुष’ नारायणप्रसाद लामिछानेलाई सम्मान गरेको हो ।
कार्यक्रममा वरिष्ठ चित्रकार हरिप्रसाद शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना र कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमकै अवसरमा ‘अरुणिमा स्मारिका’ अंक–८ को लोकार्पणसमेत गरिएको थियो। विद्यार्थीहरूले गीत, नृत्य, नाटक, योग, तेक्वान्दो लगायतका विविध सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै अभिभावक र अतिथिहरूको मन जितेका थिए ।
प्रमुख अतिथि शर्माले विद्यार्थीहरूको सिर्जनात्मक गतिविधिबाट विद्यालयले प्रदान गर्दै आएको समयसापेक्ष सैद्धान्तिक तथा व्यवहारिक शिक्षाको प्रतिविम्ब देखिएको बताए ।
सम्मानित शिक्षाविद् विश्वनाथ अर्यालले विद्यार्थीहरूको दैनिकीबारे अभिभावकहरूले मिहिन चासो राख्नुपर्ने धारणा व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष ढुंगानाले विद्यालयको शैक्षिक सफलतामा सबै सरोकारवालाको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप प्रविधिमैत्री तथा समयसापेक्ष शिक्षा उपलब्ध गराइने प्रतिबद्धता जनाए ।
कार्यकारी प्रिन्सिपल लामिछानेले विद्यालयले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले शैक्षिक उपलब्धि, प्रशासनिक व्यवस्थापन, अतिरिक्त क्रियाकलाप तथा विद्यालयले उपलब्ध गराउँदै आएका सुविधाबारे प्रकाश पारेका थिए । कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।