
काठमाडौं : तीन वर्षअघि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई ‘डेब्यु’ जित दिएको काठमाडौं ५ मा यसपटक रोचक चुनावी भिडन्त हुने देखिन्छ । नेकपा (एमाले) को बलियो संगठन रहेको यस क्षेत्रमा त्यतिबेला गठबन्धनको साथ पाएका पौडेललाई अघिल्लोपटकजस्तो सजिलो देखिँदैन् । यसपटक यहाँ पौडेलसँगै एमाले नेता ईश्वर पोखरेल, राप्रपाका नेता कमल थापा र रास्वपाका सस्मित पोखरेल मुख्य प्रतिस्पर्धी ठानिएको छ । यी दलसँगै नेकपा, उज्यालो नेपालसहित २६ उम्मेदवार चुनावी मैदानमा छन् ।
विगतका निर्वाचनमा कांग्रेस–एमालेबीच कडा प्रतिष्पर्धा हरेको यो क्षत्रमा यसपटक रास्वपासहितका उम्मेदवारहरू पनि आक्रमक रूपमा लागेका छन् । बदलिदो परिवेशमा मतदातामा नयाँ लहर चल्नसक्ने अड्कलबाजी पनि भइरहेको छ । २०७९ को निर्वाचनमा यो क्षेत्रमा एमाले नेता पोखरेल र कांग्रेस महामन्त्री पौडेलबीच मुख्य प्रतिस्पर्धा हुँदा पौडेल १५ हजार २६९ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १९० मत ल्याएका थिए । तेस्रोमा रास्वपाका प्रणयशमशेर राणाले ५ हजार ४७७ मत प्राप्त गरेका थिए । तर, यो निर्वाचन क्षेत्रमा समानुपातिकमा सबैभन्दा बढी रास्वपाले ११ हजार ६४७ मत ल्याएको थियो । दोस्रोमा कांग्रेसले १० हजार ४३ र एमालेले ९ हजार ६५२ मत प्राप्त गरेको थियो । चौथोमा राप्रपाले ७ हजार २०१ मत प्राप्त गरेको थियो ।
यसपटक पनि कांग्रेस–एमालेबाट पोखरेल र पौडेल नै उम्मेदवार छन् । तर, यसपटक परिस्थिति अलि फरक छ । रास्वपाको चुनावी माहोलले काठमाडौं ५ मा पनि त्यसको प्रभाव पर्न सक्छ । तर, रास्वपाका तत्कालीन उम्मेदवार प्रणय राणा नै पार्टी छाडेर कांग्रेस प्रवेश गरेपछि कांग्रेसका उम्मेदवार पौडेलले राहत महसुस गरेका छन् । काठमाडौं–५ ले पहिलो पटक नै सांसदको रूपमा चिनाएकोले फेरि जनताले जिताउने उनको दाबी छ । ‘मलाई यहाँका मतदाताले पुनः निर्वाचित गराउनुहुनेछ’, पौडेलले भने, अघिल्लो निर्वाचनमा आघि सारेका पाँच वर्षमा गर्न योजना तीन वषर््मै निर्वाचनमा जानुपर्ने परिस्थितिले कतिपय पूरा भएका छैनन् । त्यसलाई पूर्णता दिने र जेनजीको भावनालाई समेत समेटेर नयाँ योजनासहित निरन्तरता पाउने अपेक्षा बोकेर फेरि जनतासामु आएको छु ।’
अहिले राप्रपाका कमल थापा पनि बलिया उम्मेदवार हुन् । त्यस्तै, नयाँको नारा लिएर आएको रास्वपाका उम्मेदवार सस्मित पोखरेलको पक्षमा पनि माहोल बन्दै गएको छ । यद्यपि, रास्वपाभित्रै असन्तुष्टि बढ्दा उनका पक्षमा परिणाम आउन सहज भने नभएको स्थानीयहरू बताउँछन् । रास्वपाका पोखरेलले २०७९ को चुनावमा काठमाडौं–५ (क) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी चुनावमा पराजित भएपछि काठमाडौं महानगरमा निवर्तमान प्रमुख बालेन्द्र साहको शिक्षा सल्लाहकार भएर काम गरेका थिए । स्थानीय बासिन्दा पोखरेलले युवा पुस्तालाई नेतृत्वमा पुर्याउन विश्वाससहित अघि बढेको बताएका छन् ।
एमाले नेता पोखरेल पनि गत निर्वाचनका घाइते उम्मेदवार भएकाले मतदाताले आफूलाई रोज्नेमा आशावादी देखिन्छन् । लोकतन्त्रमा जनताको फैसलालाई स्वीकार गर्नुपर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘हामी प्रतिस्पर्धामा विश्वास गर्छौं । नयाँ साथीहरू प्रतिस्पर्धामा आउनु राम्रो हो । जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने हिम्मत नेतृत्वले राख्नुपर्दछ । तर काठमाडौं ५ ले यो पटक मलाई न्याय गर्छ भन्नेमा विश्वस्त छु ।’
रास्वपाका सस्मित, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी लगायतका उम्मेदवारहरूले आफू जित्ने दाबी गरिरहेका छन् । नेकपाकी कल्पना शर्मा पनि प्रतिस्पर्धामा छिन् । उनी २०७४ को स्थानीय तहको चुनावमा तत्कालीन माओवादीबाट टोखा नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । भ्रष्टाचार र बेतिथिको विरुद्धमा आवाज उठाउने योजना लिएर अघि बढेकी शर्माले सुशासन समृद्धि र सामाजिक न्यायको लागी आफ्नो उम्मेदवारी रहेको दाबी गरेकी छन् ।
राप्रपाका थापा यसअघिको मकवानपुर–१ बाट चुनाव लड्दै आएका थिए । २०७९ को चुनावमा मकवानपुरबाट एमालेको सूर्य चिह्न लिएर उठेका उनी राप्रपाका दीपक सिंहसँग थापा पराजित भएका थिए । यसपटक उनी राप्रपामै फर्किएर निर्वाचन क्षेत्र फेरेर काठमाडौं आइपुगेका हुन् । धर्म र संस्कृतिप्रति आस्था र विश्वास राख्ने, भ्रष्ट शासकबाट मुक्ति चाहने बहुसंख्यक मतदाता भएको कारणले उनले विजयी हुने अपेक्षा गरेका छन् ।
उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ २०७९ को चुनावमा काठमाडौं–५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार थिए । यसपटक उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मतदातामाझ प्रस्तुत भएका छन् । पर्यटन व्यवसायीबाट राजनीतिमा आएका उनी अन्तर्राष्ट्रिय सहकार्यमा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने र आर्थिक रुपान्तरण र समृद्धिको एजेन्डा बोकेका छन् । गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार निशा अधिकारी अभिनेत्री हुन् । उनी पहिलो पटक चुनावी मैदानमा छन् । उम्मेदवार २६ भएपनि यो निर्वाचनमा नेपाली कांग्रेस–एमाले र रास्वपाबीच नै म्ख्य प्रतिष्पर्धा हुने देखिएको छ ।