
काठमाडौंः निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार आयोगले दल र उम्मेदवारहरूलाई प्रदान गरेको निर्वाचन चिन्ह प्रचारप्रसारका क्रममा प्रयोग गर्न पाइने भएपनि त्यसको ठोस भौतिक वस्तु नै तयार गरी बोकेर हिँड्न नपाइने निर्णय गरेको हो ।
आयोगले निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुने स्पष्ट पारेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने आयोगले जनाएको छ । सूचना अधिकारी घिमिरेले निर्वाचन चिन्हलाई भौतिक स्वरूपमै प्रयोग गर्दा समाजको शान्ति सुव्यवस्था तथा सुरक्षा व्यवस्थामा प्रतिकूल असर पर्ने गुनासो आयोगमा आएको र उजुरीहरूको अध्ययनपछि आयोगले यस्तो निर्णय गरेको जानकारी दिए ।
उनले राजनितिक दल तथा उम्मेद्वारहरुलाई प्रचारप्रसारका क्रममा निर्वाचन चिन्ह कागज, फ्लेक्स वा अन्य सामग्रीमा सांकेतिक रूपमा मात्र प्रयोग गर्न आग्रह गरे । तोकिएभन्दा फरक ढंगले भौतिक स्वरूपमै चिन्ह बोकेर प्रचार गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर हुने उनको भनाइ छ । उनले तोकिए बमोजिम दलको झण्डा र निर्वाचन चिन्ह मात्र प्रयोग गरी शान्तिपूर्ण र व्यवस्थित वातावरणमा प्रचारप्रसार गर्न पनि आग्रह गरे ।