२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली 

shivam cement
२०८२ फागुन १२ गते १०:३७
Shares
वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली 

काठमाडौँ : काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। यससँगै आजबाट रंगहरुको पर्व होलीको उत्सव औपचारिक रूपमा सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरूले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडाका टुक्रा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ गते र १९ गते परेको छ । फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएको अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो । 

होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ ।

सम्बन्धित खबर