
स्याङ्जा : स्याङ्जामा अन्य राजनीतिक दलमा आबद्ध हुँदै आएका दर्जनौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार स्याङ्जाको विरुवामा आयोजित चुनावी सभा कार्यक्रममा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
नेपाली कम्यनिष्ट पार्टीका गण्डकी प्रदेश कमिटि सदस्य तथा विरुवा गाउँपालिकाका निर्वाचित वडा सदस्य नारायण थापाको नेतृत्वमा सोही पार्टीकी जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष मनकुमारी थापा र सोही पालिका वडा सदस्य दुर्गादेवी थापा सहित सय जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै, सोही चुनावी सभामार्फत ३२ जना नेपाली कांग्रेसका कार्यकर्ता तथा सदस्य एमालेमा प्रवेश गरेको एमाले स्याङ्जाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे ‘पारस’ले बताएका छन् । उनका अनुसार नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अबिर लगाएर स्वागत गरेका थिए ।