यो शैक्षिक सत्रमा पनि पुस्तकको अभाव हुने भएकोे छ । कोरोना महामारीका कारण अघिल्ला शैक्षिक सत्रहरुमा पुस्तक अभावबारे खासै वास्ता भएको थिएन । तर कोरोना महामारी पछि नियमित पठनपाठन शुरु भएकाले पुस्तकको खोजी शुरु भएको छ । तर पुस्तक प्रकाशनमै समस्या आएकाले पुुस्तकको अभाव हुने देखिएको हो । जनक शिक्षा सामग्री केन्द्रका अनुसार कागजको अभावमा पुस्तक पछाइ हुन नसकेको हो । नयाँ शैक्षिक सत्रका लागि मात्रै २० लाख थान पुस्तक पछाइ हुन सकेको छैन । सरकारी तथ्याङ्कका आधारमा नेपालमा एक करोड ७० लाख पुस्तक आवश्यक पर्छ । तर आवश्यक संख्यामा पुस्तक प्रकाशन हुन सकेन । पुस्तक प्रकाशन नै नभएपछि अभाव स्वभाविक हुने भयो ।
हुन त पहिलोपटक पुस्तक अभाव हुन लागेको होइन । यसअघि पुस्तक प्रकाशन हुँदा पनि समयमा सबै ठाउँ पुग्ने गरेको थिएन । विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा समयमा पुस्तक नपुग्ने गरेको समस्या देखिएको थियो । यातायातको अभाव, प्रशासनिक प्रक्रियाको अलमल र अनियमितता जस्ता कारणले पुस्तक अभाव देखिने गरेको थियो । यसपटक भने नयाँ समस्या आएको छ । पुस्तक प्रकाशन गर्न कागज अभाव हुनुको कारण भने रुस र यूक्रेनबीचको युद्ध भएको सरकारी अधिकारीहरुले जनाएका छन् । युद्धका कारण भारतबाट कागज ल्याउन नसकिएको प्रष्टोक्ति सरकारी अधिकारीहरुले दिएका छन् । भर्खरै स्थानीय चुनाव सकिएकाले पुस्तक अभावमा कागजको अपर्याप्तताको कारण देखाउनु अस्वभाविक बन्न पुगेको छ ।
किनभने दलहरुले आवश्यक संख्यामा घोषणापत्र छापेका थिए । शहर र गाउँका भित्तादेखि मतदाताका हातहातसम्म पर्चा पम्लेट बाँडिएको थियो । तर संविधानले नै सुनिश्चित गरेको विद्यार्थीको अधिकार कटौती गर्नेगरी भएको अभावबारे सरकारले यथोचित पहल नलिएको प्रष्ट हुन्छ । हरेक वर्ष कुनै न कुनै बाहना देखाउने सरकारलाई यसपटक नयाँ कारण फेला परेको समेत भन्न सकिन्छ । अतः कागज भएका मुलुकसँग कुटनैतिक सम्वादमार्फत् पहल गरेर भएपनि पुस्तक आवश्यक मात्रामा विद्यार्थीको हातमा पु¥याउन आवश्यक छ । अझ ठूला सपना देखाएर मत मागेका दलहरुले मतदाताको विश्वास जित्न पनि यो काम गर्नैपर्नेछ । विद्यार्थीले पढ्न पाउनुपर्ने, समयमा पुस्तक पाउनु र त्यसको दायित्व राज्यले लिनु वर्तमान संविधानको व्यवस्था पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies