-जयप्रकाश गुप्ता
स्थानीय निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकामा मूलतः चार जना स्वतन्त्र उम्मेदवारको चर्चा छ, काठमाडौं, जनकपुर, धनगढी र धरानको । जनकपुर र धनगढीका स्वतन्त्र उम्मेदवार रहेकाहरू त्यस स्थानका चर्चित व्यक्तिहरू हुन् । उनीहरू आ–आफु संलग्न रहेका दलहरूबाट टिकटको अपेक्षा गरेका थिए तर, टिकट नपाइएपछि ठूलो संगठनात्मक संरचनाको एक हदको सहयोग पाए । यसर्थ, उनीहरू कानूनी रूपबाट मात्र स्वतन्त्र देखिएका हुन् । उनीहरु खासमा दलहरूबाट विद्रोही उम्मेदवार हुन् ।
वास्तविक स्वतन्त्र र दलहरूको विरोधको सामना गरेर उम्मेदवार भएका त बालेन शाह र धरानका हर्क साम्पाङ मात्र हुन् । बालेनलाई मैले तस्बीरमा बाहेक देखेको छैन । हर्कलाई भने धरानको एक चोकमा तीनपाँग्रे टेम्पूमा माईक लगाई बोल्दै गरेको देखे सुनेको हुँ । राजधानी महानगरपालिकामा अन्य सबै उम्मेदवारलाई पछाडी पारेका बालेनको सर्वाधिक चर्चा हुनु स्वभाविक नै हो । यता मधेस तिर पनि उनको ठूलो चर्चा छ । केहीले सामाजिक सञ्जालमा मधेसी मूलका भनि लेखिरहेका छन् । यसो लेख्नु ठिक होइन । यो मपाईँको कुरो हो । बालेनले आफु मधेसी भएको कहीँ भनेका छैनन् । मधेसी भनिएर न्यारेशन अन्यत्र मोडिन्छ भनी पुरै सचेतता अपनाएको देखियो । पुरै प्रचार अभियानका दौरान उनले राष्ट्रिय ध्वजलाई समाई रहे । एमालेका केशव स्थापितले मधेसी नभनिञ्जेलसम्म सायदै कसैलाई उनी मधेसी परिवारसँग जोडिएको थाहा पनि थिएन होला । यसर्थ, यस्तो मधेसी पहाडी भनी बालेनको चर्चा गर्नु हुन्न ।
अहिले केहीले बालेनले पाएको मतलाई विरोधको भोट वा नो भोट भनेका छन् । यो त झनै गलत कुरो हो । नेपालको कूल जनसंख्यामा १५–२५ उमेर समूहको जनसंख्या भाग लगभग चालिस प्रतिशत रहेको छ । यसमध्ये मतदाता हुन योग्य उमेर समूहको संख्यालाई आकंलन गर्दा लगभग यति नै भोट बालेनले पाएको देखिन्छ । बालेनलाई मत दिने युवा समूह पढेलेखेका उच्च शिक्षित देखिन्छन् । यस्ता युवाहरू हामी सबैको परिवारमा छन् र हामीले आफ्ना यस्ता शिक्षित सन्तानहरूमा गर्व गरिरहेका हुन्छौ । उनीहरूका नयाँ विचारहरूलाई, विद्रोही चेतलाई बडो ध्यानले सुनिरहेका हुन्छौ । यिनीहरूले उपयोग गरेको ।।।मत’ किमार्थ पनि नकारात्मक भोट होइन । नो भोट होइन । जहाँ नो भोटको चलन छ, त्यहाँ नो भोटले परिणाम दिँदैन । उदेक वा अरूहरूको अयोग्यताको सन्देश मात्र दिइरहेको हुन्छ । बालेनले पाएको मत त्यस्तो प्रकृतिको होइन । बालेनका मतदाताहरूले सार्थकरूपमा मतको शक्तिलाई उपयोग गरेको हो । बालेन स्वयम् तथा उनका प्रचारकहरूले कही पनि धार्मिक कुरो, संघीयताको विरोध, पूर्वराजाको पक्षपोषण, वैदेशिक विवाद जस्ता कुराहरू उठाएका छैनन् यसर्थ, वरिष्ठ पत्रकार किशोर नेपालले लगाएको आक्षेप ठिक ठहर्दैन ।बालेनका बारेमा मैले तीनवटा कुरालाई बढी ध्यानमा राखेको छु । पहिलो, उनी लोकप्रिय र्याप गायक हुन् ।
उनी युवाहरूका बीच अत्यन्त लोकप्रिय छन । उनले गाएका लगभग सबै गीतहरू शासकीय वेथितीको विरूद्धमा गाइएको पाइन्छ । यो हिजोका प्रगतिवादी गीत वा क्रान्तिकारी गीतको विकल्पको नयाँ पुस्ताले रूचाएको समानान्तर धार पनि हो । यसले उनलाई चर्चित बनाएको थियो ।दोस्रो कुरा, आजका धेरै युवाहरूले राजनीतिलाई फोहोरी खेल भन्ने गरेको जस्तो उनले कहिल्यै भनेनन् । मत प्रणालीको विरोध गरेर उनले नेपालका मण्डले सोचलाई हाँैस्याएनन् । बरू मतलाई उपयोग गरी बेथितीको शासनमा रूपान्तरण गर्न सकिन्छ भने दृढता उनमा देखियो । राजनीतिमा सुधार ल्याउनु छ भने राजनीतिलाई नै माध्यम बनाउन सकिन्छ– यो सोच उनमा देखियो । तेस्रो कुरा, उनको प्रवेशलाई संयोग भन्न मिल्दैन । उनले योजनावद्ध रूपमा काम गरेका हुन् । यसका निम्ति दुईवटा उद्धरण दिन चाहन्छु । भर्खरै वि.सं. २०७४ को निर्वाचन ताका उनले लेखेका एक ट्वीट पुनः चर्चामा आयो, देखियो । यसमा उनले अर्को निर्वाचनमा स्वयम्लाई नै भोट हाल्ने भनेका छन् । यसबाट उनको तयारी तथा सोच बुझिन्छ । अर्को, एउटा अर्को तस्बीर सामाजिक सञ्जालमा देखियो । यस तस्बीरमा बालेन शाह आफ्ना टिमका साथ राष्ट्रपति भवन शितल निवासमा देखिन्छन्, जहाँ उनले राष्ट्रपतिलाई राजधानीको खानेपानी समस्याको समाधानका उपायहरू ब्रिफिङ्ग गरिरहेको देखिन्छ । यस्तै, लेखिएको छ तस्बीरको क्याप्सनमा । यी दुई कुराले जनाउँछ कि काठमाडौं महानगरपालिका पहिल्यैदेखि उनको नजरमा रहेको हो । यो उम्मेदवारी फगत संयोग होइन । योजना नै हो । यस्तै, धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको उम्मेदवारी संयोग हैन ।
धरानमा विद्यमान अनेकन बेथितिहरूका विरूद्ध उनको सचेतनाको वा खबरदारी अभियानका कारण हर्क साम्पाङ चर्चित रहेका हुन् । व्यक्तिगत रूपमा उनी एक सुपरिचित क्रान्तिकारी गायक एवम् गीतकार पनि हुन् । काठमाडौंका ठूलो समारोहहरुमा नाम चलेका अवार्डहरू नपाएपनि उनी हिजोका दिनमा अदृश्य रहेका मानिस होइनन् । उनका गीतहरू धेरैले सुनेका थिएनन् । तर, आज उनको विजयी व्यक्तित्वको खोज पडताल गर्ने क्रममा उनका गीतको भावार्थ थाहा हुन्छ । उनि परिवर्तनका पक्षधर लोकपाल देखिन्छन् । मरेको मान्छे सडेको बस्तीभ्रष्ट र दुष्टको शासन छ मस्तीसिनोको टुक्रामा झिँगा रमाउछन्गिद्ध र हुडाँरको छ लुछाचुडीदेशको माया के लाग्दो रैछ रपार्टी कै भक्ति र भाव ठूलोहिमाल झरोस् कि सीमा सरोस्बस्ती जलाउदै बगाउँछन् धुलोलोकतन्त्र भन्दै दासत्व भित्रझण्डाले आखाँ छोरेर हेर्छन्सही र गलत थाहा हुन्न केहीजे देख्न लगायो तेही देख्छन्चुनाव अभियान कै दौरान हर्कले यो गीत लेखेर धराने जनतालाई सुनाए । यस गीतका शब्दहरूले नै वर्तमानको विरूद्ध उनको चेत तथा प्रतिवद्धतालाई जनाउँछ । धरान शुरू देखि नै प्रगतिवादी गीतहरू गाइने र मन पराइने शहर हो । विसंगतिहरूका विरूद्ध एक्लो संघर्ष, संघर्षका लागि एक्लै जनताका बीच पुग्नु र रोषलाई लयमा अभिव्यक्ति दिनु–हर्क साम्पाङले यसरी सत्तालाई पछारेका छन् । यस पटकको स्थानीय निर्वाचनका बालेन र हर्क प्रतिनिधि पात्रहरू हुन् । हर्क चुनाव जिते, बालेनको बलियो अग्रता छ । तर, परिणाम आउन बाँकी छ । तर सन्देश स्पष्ट छ– दलीय रजाइँको दैलोमा संकट आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies