
काठमाडौं : निर्वाचनको दिन नजिकिएसँगै मतदाताहरू तयारीमा जुट्न थालेका छन् । यसका लागि उनीहरू मतदाता परिचयपत्र कहाँ छ भनेर खोज्दैछन् । साथमा परिचय पत्र भएकालाई समस्या भएन । मतदाता परिचयपत्र हराएका वा नलिएका मतदाता भने कसरी परिचयपत्र बनाउने भन्ने विषयमा सोधीखोजी गरिरहेका छन् ।
कतिपय मतदाताहरू यही जिज्ञासा राखेर निर्वाचन आयोगमा फोन गरिरहेका छन् । मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ ।
माघ ५ गते स्थापना भएको कल सेन्टरमा मतदाताले दिनहुँ जिज्ञासा तथा प्रश्नहरू गरिरहेका छन् । यस्तैमा परिचयपत्र हराएका वा नष्ट भएकाले निर्वाचन आयोगलाई फोन गरेका हुन् ।
निर्वाचन आयोगले सरकारी कागजातहरू भए मतदान गर्न पाइने जवाफ दिने गरेको छ ।
मतदाताको प्रश्न छ, ‘मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ?’ यसको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताउने गरेको छ ।
आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।
मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।
कतिपयले भने अझै मतदाता परिचयपत्र बनाउन सकिन्छ कि भनेर सोध्नेहरू छन् ।
जवाफमा आयोगले मतदाता परिचयपत्र बनाउने तरिका सिकाउने गरेको छ । जसअनुसार मतदाता परिचयपत्र निर्माण गर्न सर्वप्रथम मतदाता नामावलीमा नाम दर्ता गर्नु पर्दछ । नाम दर्ता गर्न आफ्नो नागरिकताको प्रमाणपत्र संलग्न गरी जिल्ला निर्वाचन कार्यालयमा निवेदन पेस गर्नुपर्छ । कार्यालयका कर्मचारीले आवेदकको फोटो, औँठा छाप जस्ता जैविक विवरण संकलन गरी मतदाता नामावलीमा नाम दर्ता गरिदिन्छन् । नाम दर्ता भएपछि निर्वाचन आयोगले मतदाता परिचयपत्र तयार गर्ने निर्णय गरेमा छापिएका मतदाता परिचयपत्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा पठाइन्छ । जिल्लामा प्राप्त भएका मतदाता परिचयपत्र जिल्ला निर्वाचन कार्यालय वा सम्बन्धित मतदान केन्द्रबाट निर्वाचन हुने तीन दिन अघिदेखि वितरण गरिन्छ ।
तर, यो प्रक्रिया पुरा गरेर मतदाता परिचयपत्र लिएर २१ फागुनको निर्वाचनमा भाग लिन पाउँदैनन् । हाललाई मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य निर्वाचन अवधिभर स्थगित गरिएको छ । यो निर्वाचन सम्पन्न भएपछि नाम दर्ता एवम् अद्यावधिक गर्ने कार्यक्रम सुरु हुन्छ र मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ ।
कतिपयले अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न वा अद्यावधिक गर्न सकिन्छ कि सकिँदैन ? भनेर समेत सोधेका छन् । जवाफमा आयोगले ‘अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको वेबसाइटबाट प्रि–रजिष्ट्रेसन प्रणालीमार्फत् आवेदन फारम भर्न सकिने’ बताउने गरेको छ । फारम भरिसकेपछि तोकिएको दिन, समय र स्थानमा उपस्थित भई फोटो खिचाउने र बायोमेट्रिक दिनुपर्दछ । कुनै विवरण सच्याउनु पर्ने भएमा बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र वा अन्य आवश्यक कागजात संलग्न गरी आयोगको वेब ठेगानामार्फत् आवेदन पेस गर्न सकिन्छ । आयोगका कर्मचारीले प्राप्त आवेदन र संलग्न कागजात जाँच गरी मतदाता नामावलीमा नाम दर्ता वा अद्यावधिक गरिदिन्छन् ।