
काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रे क्षेत्र नं. १ अन्तर्गत कोशीपारी क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार अमित लामा यतिबेला गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र संवादमा व्यस्त छन् ।
घरदैलो अभियानका क्रममा लामा काभ्रेको चौरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुगेका छन् । उनले स्थानीयसँग विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषि आधुनिकीकरणका विषयमा छलफल गरेका छन् ।
कोशीपारी क्षेत्रको दीर्घकालीन समृद्धिका लागि ठोस योजना आवश्यक रहेको उल्लेख गर्दै लामाले सुनकोशी तेस्रो जलविद्युत आयोजना अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार बहुप्रतीक्षित उक्त आयोजना यस क्षेत्रको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको परियोजना भएकाले यसको शीघ्र कार्यान्वयनमा जोड दिइनेछ ।
लामाका अनुसार आयोजना सुरु भएसँगै स्थानीय युवालाई रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार र राजस्व वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
साथै, दोलालघाटदेखि दोभानटारसम्म जल–पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा सिँचाइ व्यवस्थापन सुधार र सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिने उनले बताएका छन् ।
धार्मिक पर्यटन विस्तारका लागि क्षेत्रका प्रमुख आस्थाका केन्द्रहरूलाई विकासको आधार बनाइने उम्मेदवार लामाको भनाइ छ ।
पाथीभारा मन्दिर, चौरीदेउराली मन्दिर, खाँदादेवी मन्दिर र नाग्रेगगर्चे क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने मार्गचित्र मतदातामाझ प्रस्तुत गरिएको छ ।
घरदैलो अभियानलाई सम्बोधन गर्दै लामाले विगतमा अन्य दललाई विजयी गराए पनि अपेक्षित विकास हुन नसकेको दाबी गरे । सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय प्रगति हुन नसकेको उल्लेख गर्दै उनले यसपटक एमालेलाई अवसर दिन मतदातासँग आग्रह गरे ।
कोशीपारीको दीर्घकालीन विकासका लागि स्पष्ट योजना आफूसँग रहेको बताउँदै लामाले आगामी पाँच वर्षभित्र क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 'समृद्ध कोशीपारी' निर्माणका लागि जनताको साथ आवश्यक रहेको उनको भनाइ छ ।
