
काठमाडौँ : रामप्रसादराई गाउँपालिका ६ कन्यदहमा नेकपाका दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
विन्द्र राई र पाण्डव राईको नेतृत्वमा एमालेमा भित्रिएका उनीहरूलाई एमाले सचिव एवं भोजपुरका उम्मेदवार शेरधन राईले पार्टीमा स्वागत गरे । नेकपाबाट देश र जिल्लाको विकास र अहिलेको राजनीतिक समस्याको निकास नहुने उनीहरूको टिप्पणी थियो ।
भोजपुर बदल्ने संकल्पलाई साथ दिन आफूहरू एमाले प्रवेश गरेको नेता विन्द्र राईले बताए । पाण्डव तत्कालीन माओवादी केन्द्र रामप्रसादराई गाउँपालिका-६ का उपाध्यक्ष हुन् भने विन्द्र वडा कमिटी सदस्य थिए ।
रामप्रसादराई गाउँपालिका पूर्वसांसद सुदन किरातीको गृहपालिका हो । सुदन पार्टी छाडेर जनार्दनसहित नयाँ पार्टीमा सामेल भएपछि यहाँका माओवादी धारकाले शेरधनलाई अभिभावकको रूपमा मान्न थालेको एमाले भोजपुरका अध्यक्ष मक्कर खड्का दाबी गर्छन् ।