
विराटनगर : नेपाली कांग्रेसका नेता डा शेखर कोइराला अघिल्लो चुनाव जितेर पनि पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धी भएनन् । बरु, उनले आफ्नै गुटका महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाबिरुद्ध मैदानमा उतारे । त्यतिबेला शेखर र गगनबीच संसदीय दलको नेता गगन हुने र १५औँ महाधिवेशनमा शेखर सभापति हुने भद्र सहमति भएको थियो । तर, जेनजी आन्दोलनपछि विशेष महाधिवेशन गरेर गगन थापा पार्टी सभापति निर्वाचित हुँदा शेखरले पार्टीको संस्थापन र इतर दुबै मोर्चाको नेतृत्व सम्हाल्न सकेनन् । अब उनी चुनाव जितेर संसदीय दलको नेता बन्ने बाटोमा छन् । त्यसका लागि सबैभन्दा पहिलो २१ फागुनमा हुने चुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनुपर्ने छ ।
कुनै बेला कांग्रेसको पकड रहेको यो क्षेत्रमा अहिले त्यस्तै प्रभाव भने छैन । यसपटकको चुनावमा कोइरालालाई नेकपा एमालेका विनोद ढकालले कडा टक्कर दिँदैछन् । रास्वपाका रूविना आचार्य र नेपाली कम्युनिस्ट पार्टीबाट ओपेन्द्र राय पनि चुनावी जितको दौडमा छन् । चुनावी मैदानमा दलीय र स्वतन्त्र गरी २० जना उम्मेदवार छन् । तीमध्ये चार मुख्य दलका नयाँ र पुराना अनुहारबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
कोइराला २०७९ को निर्वाचनमा यही क्षेत्रबाट जितेका नेता हुन । २०७४ मा वाम गठबन्धनका तर्फबाट एमालेका लालबाबु पण्डितले उनलाई पराजित गरेका थिए । तर, २०७९ मा भने चुनावी समीकरणमा परिवर्तन भयो । त्यससँगै कांग्रेस, माओवादी केन्द्र र एमालेबाटै विभाजित एकीकृत समाजवादी मिलेर चुनावी तालमेल हुँदा नेता कोइरालाले सहज जित हासिल गरेका थिए । कोइराला ३५ हजार २२४ मतसहित विजयी हुँदा एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान ९ हजार १४० मतसहित तेस्रो बनेका थिए । समानुपातिकतर्फ भने कांग्रेसले २३ हजार ७१०, एमालेले १९ हजार ३८९ र रास्वपाले ११ हजार ५२६ मत प्राप्त गरेका थिए । त्यस्तै, राप्रपाले १० हजार ६४१, माओवादी केन्द्रले ८ हजार १८५ मत प्राप्त गरेका थिए ।
निर्वाचन आउन एक साता बाँकी छँदा कोइरालाको मुख्य प्रतिस्पर्धा एमालेका विनोद ढकालसँग हुने देखिन्छ । उनी २०७९ को निर्वाचनमा मोरङ ४ बाट उठेका थिए । उनलाई तत्कालीन माओवादी केन्द्रका अमनलाल मोदीले पराजित गरेका थिए ।
मोरङ ६ मा यस पटक १ लाख ३७ हजार ८३२ जना मतदाता छन् । यस पटक चार पक्षिय प्रतिष्पर्धा हुँदा चुनाव जित्न झण्डै ३० हजार हाराहारी मत चाहिने अनुमान छ । मधेस र कोशीका अरु जिल्लाको तुलनामा मोरङमा रास्वपाको लहर केही कम देखिन्छ । त्यसैले कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको हो । तर, रास्वपाको माहोल बढ्ने चिन्ता भने ती दलमा देखिन्छ । त्यसो हुँदा कस्ले बाजी मार्छ भन्ने अहिले नै भन्न सकिने स्थिति छैन । कांग्रेस उम्मेदवार कोइरालाले अघि सारेको एजेन्डा र उनको गतिशीलतालाई कांग्रेसले जितको आधार मानेको छ ।
कोइराला र एमालेका विनोद ढकालबीच यो दोस्रो चुनावी भेट हो । यसअघि २०६५ को उपनिर्वाचनमा यी दुई उम्मेदवार थिए । त्यतिबेला कोइरालाले चुनाव जितेका थिए । यसपटक आफूले जित्ने वातावरण बनेको एमालेका उम्मेदवार ढकाल बताउँछन् । त्यसो त, रास्वपाका उम्मेदवार रुबिना आचार्य र नेकपाका ओपेन्द्र रायले पनि मुख्य प्रतिस्पर्धामा पुगेर चुनाव जित्ने आस गरेका छन् ।
रोचक के छ भने, २०४८ यता भएका सबै निर्वाचनमा मोरङका मतदाताले मत बदल्दै आएका छन् । त्यसैले यसपटक उनीहरुको अभिमत कता जान्छ भन्न सकिने स्थिति छैन । २०४८ सालमा मोरङ– ६ बाट नेपाली कांग्रेसका श्यामलाल तबदार विजयी हुँदा त्यसको तीन वर्षपछि भएको २०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका गुरू बराल निर्वाचित भए । २०५६ को निर्वाचनमा कांग्रेसका हरिनारायण चौधरीले एमालेका गुरू बराललाई पराजित गरे ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मोरङ– ६ मा मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदार विजयी भएका थिए । त्यसबेला कांग्रेसका शेखर कोइराला पराजित भएका थिए । नेपाली कांग्रेस छाडेर मधेसी आन्दोलनको पक्षमा उभिएका नेता गच्छेदारले दुई निर्वाचन क्षेत्रबाट जितेपछि मोरङ–७ छाड्दा २०६५ मा उपनिर्वाचन भयो । उपनिर्वाचनमा कांग्रेसका शेखर कोइराला जित निकाले । उक्त उपनिर्वाचनमा कोइरालासँग एमालेका नेता विनोद ढकाल प्रतिस्पर्धामा थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि कांग्रेसकै कोइरालाले जितेका थिए । संविधान बनेपछि भने कांग्रेस र एमालेले पालैपालो चुनाव जित्दैआएको छ । रास्वपा र नेकपाको माहोल अहिलै स्थितिमा रहे यसपटक पनि कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।