काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सन्तोष कुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भिमा लम्साल ढकाल, आपूर्ति संयोजक रामप्रसाद पौडेल र लेखा परीक्षण गर्ने सिबि बस्नेत एण्ड एसोसिएट्सका प्रोपाइटर चन्द्र बहादुर बस्नेतलाई विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले सामुदायिक वनको २८ लाख ८० हजार ५९६ रुपैयाँ हिनामिना गरेको भन्दै सोही बराबरको बिगो र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । अख्तियारका अनुसार मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले फर्जी बिल भरपाई पेश गरी वन कार्यालयको कुनै पनि निकायहरुसँग समन्वय नगरी आफूलाई लाभ हुने र समूहलाई हानी पुर्याउने गरी काम गरेको अभियोग लगाइएको छ ।
समूहका तत्कालीन पदाधिकारीहरुले आफूखुसी मुल्य अवमूल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्याङ्कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता कार्य गरेको र सोबाट २८ लाख ८० हजार ५९६ रुपैयाँ हानी नोक्सानी पुराएको अख्तियारले जनाएको छ ।
अख्तियारको अभियोगपत्रमा तत्कालीन अध्यक्ष सन्तोष कुमार लावतीले ९ लाख ७७ हजार ३४९ रुपैयाँ, तत्कालीन सचिव देविन्द्र कार्कीले ८ लाख १६ हजार ७४९ रुपैयाँ, तत्कालीन कोषाध्यक्ष भिमा लम्साल ढकालले ७ लाख २ हजार ३४९ रुपैयाँ र तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलले ३ लाख ८४ हजार १४९ रुपैयाँ भ्रष्टाचार गरेको दाबी लिइएको छ ।
यसरी काठको अवमूल्यन गरी आफूलाई फाइदा हुनेगरी बेचबिखन गरेको, कम परिमाण देखाएको लगायतका काम गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम मुद्दा दायर गर्दै कैद र जरिवानाको मागदाबी लिइएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies